हाइब्रिड धानको परीक्षण

झापामा पहिलो पटक नयाँ प्रजातिको हाइब्रिड धानको प्रयोगात्मक परीक्षण सुरु गरिएको छ । जिल्लाका विभिन्न १० स्थानमा १० हेक्टरमा परीक्षणका लागि किसानले धान लगाएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाले विभिन्न समूहमार्फत बीउ, मल, प्राविधिक सहयोग गरेपछि किसानले नयाँ जातको धान लगाएको जनाएका छन् । गौरादहका अगुवा किसान चन्द्रप्रसाद निरौलाले आफ्नो वर्षभरि खाने खेतमा जोखिम मोलेर भए पनि यो धान लगाएको बताउनुभयो । “सबैले यसले राम्रो उत्पादन दिन्छ भनेपछि समूहमार्फत नयाँ जातको धान लगाएका हौँ,” उहाँले भन्नुभयो । अन्य धानको बीउभन्दा यो अलि फरक रूपमा रोपिने रहेको पाएको पनि उहाँले जनाउनुभयो ।