समयमै क्षतिको विवरण नआउँदा राहतमा ढिलाइ

मंसिर १, बैतडी । कात्तिक पहिलो साता परेको अविरल वर्षाले बैतडीमा ठूलो धनजनको क्षति भएको थियो । अहिलेसम्म वर्षातबाट गएको बाढीपहिरोले गरेको क्षतिको पूर्ण विवरण आउन नसक्दा राहतमा ढिलाइ भएको छ ।  पहिरोले चार जनाको मृत्य भएको थियो भने करोडौको भौतिक संरचना, अन्नबाली लगायतका क्षेत्रमा क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा ६ स्थानीय तहले मात्र क्षतिको विवरण पठाएका छन् । अझै चार स्थानीयतहको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । विवरण नपठाउनेमा गाउँपालिकामा डिलाशैनी र पञ्चेश्वर छन् भने नगरपालिकामा मेलौली र पूर्चौडी रहेका छन् । वर्षातले बाटो अबरुद्ध भएकोले समयमा जनधनको क्षति भए पनि जिल्ला विपत व्यवस्थापनको टोली घटनास्थलमा पुग्न सकेको थिएन । टोली आफै घटनास्थलसम्म नपुग्दा क्षतिको विवरण संकलनमा स्थानीय तह र प्रहरीको भर पर्नु परेको हो । संकलन नभएका स्थानीय तहको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ‘प्रहरीको मुचुल्का सहतिको विवरण माग गरेका छौँ’ उनले भने ।  महीना दिन हुन लाग्दा पनि कुनै राहत नपाएको पञ्चेश्वर २ का बाढि पीडित हरि चन्दले बताए । क्षतिको विवरण संकलन भएका स्थानीय तहमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै  झोलुंगे पुल, विद्यालय, सिँचाइ आयोजना, सडक र स्थानियले उत्पादन गर्ने खेतमा क्षति पुगेको छ । यस्तै, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाबाट संकलन गरेको तथ्यांक अनुसार १ हजार ३८० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको छ । विवरण संकलन भएका ६ ओटै स्थानीय तहमा वर्षातले १ हजार १४० हेक्टर क्षेत्रफलमा १ करोड २३ लाख मूल्य बराबरको अन्नबाली र तरकारीमा क्षति गरेको छ । सबैभन्दा बढि जिल्लाको सिगास गाउँपालिकामा क्षति भएको छ । सिगासमा मात्रै १ हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको छ भने अरु स्थानीय तहमा यो भन्दा कम रहेको विवरणमा उल्लेख गरिएको छ ।  जिल्लाको शिवनाथमा एकै परिवारका तीन र सूर्नया गाउँपालिकामा एकजनाको मृत्यु भएको थियो । अहिले घरमा क्षति भएकाहरु आफन्तको घरमा बसेका छन भने आंशिक घर क्षति भएकाहरु त्यहि घरमा बसिरहेका छन् । आधाजतिले धान भित्र्याइ सकेकाले पनि बालीको कम क्षति भएको स्थानीयतहले बताएका छन् ।