कोभिड महामारी नियन्त्रणमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको २ करोड सहयोग

काठमाडौं (अस) । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पछिल्लो दुई सातामा दुई करोड रुपैयाँ कोरोना महामारी नियन्त्रणका सामग्री खरिदका लागि प्रत्यक्ष अनुदान उपलब्ध गराइएको जनाएको छ । सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड–१९ प्रभावित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको कम्पनीले बताएको छ । कम्पनीले    अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड ३५ लाख, विभिन्न प्रदेशमा सामुदायिक समूहको प्रयासका लागि सहयोगस्वरुप ७५ लाख रुपैयाँ लाख प्रदान गरिएको छ । यस्तै, नेपाल भेन्टिलेटर सर्भिसलाई विविधि प्रकारका भेन्टिलेटर खरिद गर्न, वीरगञ्ज महानगरमार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि,ल लितपुर महानगर र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरूमार्फत सञ्चालित आइसोलेसन सेन्टरका निम्ति उपकरण र सामग्री खरिद गर्न सहयोग रकम उपलब्ध गराइएको कम्पनीले बताएको छ । विराटनगर, मोरङमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनका लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग, रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैंक सञ्चालन गर्न, रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक सञ्चालन गर्न, लायन्स क्लब अफ बुटवलमार्फत बुटवल, रूपन्देहीमा अक्सिजन ग्यास भर्न, रोटरी क्लब अफ भैरहवामार्फत भैरहवा, रूपन्देहीमा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिद गर्न पनि कम्पनीले रकम उपलब्ध गराएको छ । यसैगरी भैरहवा चेम्बर अफ कमर्समार्फत रूपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्न र देशभरका ग्राहक तथा स्थानीय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरिएको कम्पनीले जनाएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाहले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीका बेला समुदायलाई आवश्यक सामग्री खरिदका लागि रकम उपलब्ध गराइएको बताए । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समय ‘कर्पोरेट नागरिक’ को हैसियतले व्यापारिक घरानाले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगका हात अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।