काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । महानगरपालिकाले विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गर्दै आएको छ । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही सम्पर्कमा […]

सम्बन्धित सामग्री

सम्पर्कमा नआउने ठूला करदाताको सेवा बन्द गर्ने कामपाको तयारी

साउन २६, काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।  विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा  कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही सम्पर्कमा आए ।   सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन् । कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ । सूचना प्रकाशन गरिएकामध्ये केही अझै सम्पर्कमा नआएका छैनन् ।  कामपा राजस्व विभाग प्रमुख डा शिवराज अघिकारीले भने ‘सार्वजनिक सूचना जारी गरिएको छ । लिखित/मौखिक सूचनामार्फत पनि जानकारी दिइएको छ ।   तोकिएको समय सकिने बेला कार्यस्थलमा गएर ‘माइकिङ’ गरिएको छ । अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन । अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्ने हो ।’   सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा हालसम्म रू. एक करोड ५३ लाख राजस्व बुझाएका छन् । यसरी दाखिला गर्नेमा सबैभन्दा बढी युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड ट्रेड सेन्टर)को  रू. एक करोड छ ।  यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले अगामी १२ दिनभित्र सम्पत्तिको मूल्यांकन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन समेत दिएका छन् ।  यसैगरी, कामपा–१४ मा अवस्थित नेशनल हस्पिटलले रू. २४ लाख र सोही वडाको शहीद मेमोरियल हस्पिटलले रू. १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रू. १० लाख बुझाएर गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जानकारी दिएको छ ।  धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन नमानेको बताइएको छ । विगत २८ वर्षदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रू. ७० करोड असुल गर्ने लक्ष्य लिएको छ ।  विभागका अनुसार समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ । विभागले दुई वर्षदेखि कारोनाका कारण करदातामा समस्या परेको जनाउँदै जरिवाना करमा छूट दिएको छ । यसो गर्दा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले पटक–पटक ताकेता थालेको हो । करदाताकै सहजताका लागि कामपाले गत असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजस्व संकलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा १६० करदाता जोडिएका छन् । रासस