काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा (नेप्से) मा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । तीमध्ये पाँच कम्पनीकोे चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्मको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ । सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्स, चन्द्रागिरि हिल्स लिमिटेड, ओरियण्टल होटल्स लिमिटेड र कालिञ्चोक दर्शनको खुद नाफा बढेको हो ।
सिटी होटल भने चालू आवको दोस्रो त्रैमाससम्ममा ११ करोड ७९ लाख रुपैयाँ घाटामा छ । गत आवको दोस्रो त्रैमासमा पनि सिटी होटेल १३ करोड २४ लाख रुपैयाँ घाटामा थियो । अघिल्लो वर्षको तुलनामा सिटी होटलको घाटा यसपालि कम छ ।
कोरोना कम भएसँगै पर्यटक आगमन बढ्दा होटेल तथा पर्यटन समूहको नाफा बढेको हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुुसार सन् २०२३ मा १० लाख १४ हजार ८७६ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो सन् २०२२ को तुलनामा ४ लाखले बढी हो । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीमध्ये सबैभन्दा बढी सोल्टी होटलले २६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४ दशमलव ६४ प्रतिशतले बढी हो । सोल्टीले चालू वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत आवमा यो होटेलको आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो । पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दा आम्दानी बढेको
होटेलले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७१ प्रतिशत बढेको छ । गतवर्ष दोस्रो त्रैमासमा १० करोड ६१ लाख नाफा कमाएको तारागाउँले यो वर्षको सोही अवधिमा नाफा १८ करोड १६ लाख रुपैयाँ पुर्याएको छ । गत साउनदेखि पुससम्ममा तारागाउँले ६३ करोड ८५ लाख आम्दानी गरेको देखिन्छ ।
त्यस्तै ओरियन्टल होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा यसपालि ४६ दशमलव २४ प्रतिशत बढेको छ । ओरियन्टलले गतवर्ष दोस्रो त्रैमाससम्ममा ३ करोड ६५ लाख नाफा कमाएकोमा यसपालि बढाएर ५ करोड ३४ लाख रुपैयाँ पुर्याएको हो । यसले चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५६ करोड १ लाख आम्दानी गरेको देखिन्छ ।
त्यस्तै चन्द्रागिरि हिल्स लिमिटेडको दोस्रो त्रैमाससम्मको नाफा ६ करोड २८ लाख रुपैयाँ पुगेको छ । यो नाफा गतवर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । गतवर्ष कम्पनीको दोस्रो त्रैमाससम्मको नाफा ५ करोड १४ लाख रुपैयाँ थियो । चन्द्रागिरिले गत साउनदेखि पुससम्ममा ४५ करोड ७५ लाख आम्दानी गरेको छ ।
त्यस्तै कालिञ्चोक दर्शन लिमिटेड गत आवको दोस्रो त्रैमाससम्ममा ६० लाख ४७ हजार रुपैयाँ नाफामा रहेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४ लाख ३४ हजार रुपैयाँ नाफामा छ । यस कम्पनीको आम्दानी बढेकाले नाफा माथि गएको हो । कालिञ्चोक दर्शनले गत साउन–पुसमा ३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।