मंसिर २, काठमाडौं । गरिमा विकास बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । कुल १० लाख कित्ता ऋणपत्रमध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने जानकारी दिएको छ ।
कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी सात वर्ष सम्मका लागि गरिमा डिबेञ्चर - २०८५ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा रेटिङले कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्राएनपी इस्युआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ । साथै मध्यम के्रडिट जोखिम रहेको जनाउँछ ।