आयल निगमलाई आईओसीको नयाँ मूल्य सूची, एलपी ग्यासमा १०० र पेट्रोलमा ४ रुपैयाँ बढ्यो, निगम दबाबमा

फागुन १७ ,काठमाडौं । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेको बताएको छ । इण्डियन आयल कर्पोरेसन(आईओसी) ले पठाएको नयाँ मूल्य अनुसार डिजेल ३ रुपैयाँ , पेट्रोल ३.८९ , मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ, हवाई ईन्धनमा ३.५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको निगमका प्रवक्ता विनीत मणि उपाध्यायले बताए । ‘बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड र महीना दिनमा ६ अर्ब १८ करोड  रुपैयाँ घाटामा जाने देखियो, हामी मूल्य बढाउनु पर्ने दबाबमा पर्‍यौं’, उनले भने, ‘नयाँ मूल्य अनुसार समायोजन गर्न नसके आईओसीलाई इन्धनको पैसा तिर्न नसक्ने अवस्था बन्यो ।’ मंगलवार प्राप्त नयाँ मूल्यपछि निगमको नियमित विक्रीबाट आईओसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ ।  ‘मार्च महीनामा निगमले दुई ओटा किस्ता आईओसीलाई भुक्तानी गर्नुपर्छ । सो किस्ता तिर्न हामीसँग मूल्य नबढाए वा सरकारले पैसा नदिए सकिन्न’, उपाध्यायले भने ।  आगामी ८ र २३ तारिखमा उक्त किस्ता तिर्नुपर्ने उनको भनाइ छ ।