मोटर बीमामा निषेधाज्ञा अवधिको प्रिमियम छूट

काठमाडौं । बीमा समितिले मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा छूट दिने भएको छ । समितिले शुक्रवार निर्जीवन बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दै मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा समानुपातिक रूपमा छूट दिन निर्देशन दिएको हो । समितिले सार्वजनिक यात्रुवाहक सवारीसाधनको हकमा यस्तो निर्णय गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निषेधाज्ञा अवधिभरका लागि सार्वजनिक सवारीसाधनको बीमाशुल्कमा छूट दिने निर्णय गरिएको बताए । निषेधाज्ञा अवधिमा अधिकांश सवारीसाधन पूर्णरूपमा थन्किएका र केही सवारीसाधन आंशिक रूपमा चलेका छन् । त्यो अवस्थामा सवारीसाधनमा बीमायोग्य जोखिम कम हुने भएकाले समानुपातिक रूपमा बीमाशुल्क छूट दिने व्यवस्था गरिएको हो । तर, दाबी परिसकेको बीमाको हकमा भने छूट नदिइने बीमा समितिको भनाइ छ । कोरोना भाइरसको दोस्रो लहर शुरू भएपछि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको थियो । त्यो मितिदेखि सरकारले निषेधाज्ञा हटाएको मितिसम्मको अवधिका लगि बीमाशुल्क छूट दिनुपर्ने समितिको भनाइ छ । समितिले कोरोनाको पहिलो लहर नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा पनि मोटर बीमामा बीमाशुल्क छूट दिएको थियो । सवारीसाधन नचलाउँदा जोखिम नहुने भएकाले बीमितहरूलाई बीमाशुल्कमा छूट दिने निर्णय गरिएको हो । समितिका अनुसार वार्षिक बीमाशुल्कको १ तिहाइ रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरिनेछ । बाँकी रहेको २ तिहाइ रकमबाट समानुपातिक रूपमा छूट दिने व्यवस्था कम्पनीले गर्नुपर्ने छ । बीमाशुल्क गणना गर्दा तेस्रो पक्ष, यात्रु र कर्मचारी बीमालगायत जोखिमको समेत हिसाब गर्नुपर्ने समितिको भनाइ छ । कम्पनीले वार्षिक बीमाशुल्कको २ तिहाइ रकमलाई ३६५ भाग गरेर १ दिनको बीमाशुल्क गणना गर्नुपर्नेछ । सोही १ दिनको बीमाशुल्क निषेधाज्ञा भएको दिनको आधारमा सम्बद्ध सवारीधनीले बीमाशुल्कमा छूट पाउने छन् । समितिका अनुसार बीमितले पाउने यो छूट बीमालेख नवीकरण गर्दा बीमाशुल्कमा समायोजन गरिनेछ । कम्पनी परिवर्तन गर्दा भने हालको कम्पनीले बीमालेख छूट दिएको रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ । बीमा अवधिमा दाबी परेको सवारीसाधनको हकमा भने यो छूट लागू हुने छैन । निषेधाज्ञा कारण सवारीसाधन थन्किएर बसेका छन् , त्यसैले जोखिम कम छ । यही आधारमा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा छूट दिने निर्णय गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने सरकारले सूचना जारी गरी सञ्चालन गर्न दिएको अनुमतिको अवधिको आधारमा थन्किएको अवधि गणना गरिनेछ । सोही आधारमा नै सम्बद्ध सवारीधनीले बीमाशुल्कमा छूट पाउने समितिको भनाइ छ ।

सम्बन्धित सामग्री

लकडाउनको कहरमा यातायात व्यवसायी : मोटर बीमाको प्रिमियममा छूट गर्न माग

जेठ २६, धरान । कोरोना महामारीले यातायातका सवारी साधनहरु ग्यारेजमै थन्क्याउनु परेको बाध्यात्मक अवस्थामा मोटर बीमाको प्रिमीयममा छूट गरिदिन यातायात व्यवसायीहरुले आग्रह गरेका छन् ।  पहिलो चरणको लकडाउन केही खुकुलो भए पछि लयमा फर्किदै गरेको व्यावसाय पुनः दोस्रो चरणको लकडाउनले यातायात व्यवसाय धरायसी बन्दै गएकाले मोटर बीमा छूट गरिदिन व्यवसायीले बीमा समितिलाई आग्रह गरेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिले मोटर बीमाको प्रिमीयममा छूट गरिदिन आग्रह गर्दै बीमा समितिलाई जेठ २५ गते पत्र पठाएको छ ।  दोस्रो चरणको भेरियन्टका कारण वैशाख १६ गतेदेखि नै सवारीसाधनहरु घर तथा ग्यारेजमा थन्किएर बसेका छन् । लामो समयसम्म सवारी साधन घर ग्यारेजमा थन्किदा बैंकको किस्ता, ब्याज साथै सवारीसाधनको पार्टस् पूर्जा समेत काम नलाग्ने भएपछि धेरै ठूलो क्षति व्यहोर्नु परेको महासंघका १ नम्बर प्रदेश समितीका संयोजक सरोज श्रेष्ठ बताउँछन् ।  उनी भन्छन्, ‘पहिलो चरणको लकडाउन खुलेपछि बैंकको किस्ता, ब्याज लगायत मर्मत सम्भारको व्यवस्थापन गरि विस्तारै लयमा फर्कदै गएका थियौ, बैंक किस्ता ब्याजलाई पुनर्तालिकीकरण गरि भुक्तानी गर्दै गरेकोमा सो समेत चुक्ता नभइ दोस्रो चरणको लकडाउन शुरु भइहाल्यो, अहिले सबै सवारीसाधन घर तथा ग्यारेजमै थन्किएको छ ।’ घर तथा ग्यारेजमा सवारी साधन थन्किएर थोत्रो हुन थालेपछि व्यवसायबाटै पलायत हुने अवस्था सृजना भएको उनको भनाइ छ ।  अघिल्लो वर्षको लकडाउनको समयअवधिको बीमा प्रिमियम छूट गरिएको थियो । बीमा समितिले सरकारले लकडाउन घोषणा गरेको अवधिभरको बीमा प्रिमियममा छूट एवम् दाबी रहितको छूट समेत गरिदिए पछि व्यवसायीले राहत महशुस गरेका थिए । यस वर्षको लकडाउन कहिले सम्म लम्बिने टुङ्गो नभएकाले मोटर बीमाको प्रिमियममा छूट गरिदिन आग्रह गरेको श्रेष्ठले बताए ।  सवारी साधन घर तथा ग्यारेजमै थन्किएकोले बीमा अवधि फेल हुने भएकाले लकडाउन खुल्ला हुने बित्तिकै बीमा नविकरण गर्नुपर्ने भएकाले व्यवसायीलाई झन् पिरोलेको छ । गत साल झै बीमा समितिबाट निषेधाज्ञा अवधि भरको प्रिमियममा छूट र दाबी रहितको अवधिको छूट दिनका लागि महासंघ प्रदेश नम्बर १ समितीले आग्रह गरेको छ ।  अघिल्लो वर्ष यातायात व्यवसायीकै माग अनुसार बीमा समितिले बीमा रकमको लकडाउन अवधिको हुने आउने रकमको ६७ प्रतिशतसम्म छूट दिएको थियो । ४ महीना अवधिको छूट रकमले यातायात व्यवसायीलाई ठूलो राहत पुगेको श्रेष्ठको भनाइ छ ।  अघिल्लो वर्ष प्रदेश सरकार मातहतमा रहेको यातायात व्यवस्था कार्यालयबाट पाइने छूटका लागि यातायात व्यवसायीले आग्रह गरेका थिए । लकडाउन समय अवधिको सवारी साधन कर, यातायात व्यवसायी कर लगायतका अन्य कर छूटका लागि आग्रह गरे पनि प्रदेश सरकारले कुनै पनि छूट नगरिदिएको उनी बताउँछन् । यस वर्ष समयमै प्रदेश सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।