वीरगन्ज महानगर पूर्ण खोपयुक्त पालिका घोषणा

असार ३१, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । बिहीवार वीरगञ्जमा आयोजित समारोहमा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले महानगरलाई पूर्ण खोप घोषणा गरेका हुन् ।  वीरगन्ज महागनरपालिकाका १५ महीना उमेरसम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकेपछि पूर्ण खोप घोषणा भएको हो । मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य भएकाले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए ।  कोरोना संक्रमणको महामारीले खोप कार्यक्रम प्रभावित भए पनि वीरगञ्ज महानगरपालिकाले पूर्ण खोप घोषणा गर्नु सराहनीय भएको मन्त्री शर्माले बताए । महानगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउँदै यसलाई निरन्तरता दिनका लागि स्थानीय वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको सक्रियता आवश्यक रहेको बताए ।  स्थानीय जनप्रतिनिधिले वडास्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकालाई खोपको मात्रा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न सरावगीले आग्रह गरे । पूर्णखोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाले केही समयअघि महानगरका ३२ ओटै वडामा १६ देखि २३ वर्षसम्म उमेर समूहका बालबालिकाले खोप लिए÷नलिएको बारेमा २९ हजार १९३ घरधुरीमा सर्वेक्षण गरेको थियो ।  सर्वेक्षणका क्रममा जन्मिएदेखि १५ महिनाभित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जनामात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले जानकारी दिए ।  ५८७ जना बालबालिकाले आंशिक र ओठ जनाले कुनै पनि खोप नलगाएको फेला परेको उनले बताए । महानगरका ३२ ओटै वडामा स्वास्थ्यकर्मी र स्वयंसेवी खटाएर खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाइएपछि महानगरललाई पूर्ण खोपयुक्त घोषणा गरिएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए ।