काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीद गर्ने मंगलवार अन्तिम दिन रहेको छ ।
कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि माघ १७ गतेभित्र मात्र विक्री खुला गर्न लागिएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ खरीदका लागि सोमवारसम्म १० लाख ९९ हजार २११ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार यी आवेदकहरूबाट १ करोड २६ लाख १३ हजार ९७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ६ दशमलव ३३ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले जारी पूँजी रू. १ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । सर्वसाधारमा निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यसबाहेक पनि १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । कम्पनीले ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको सार्वजनिक निष्कासनमार्फत विक्री हुने आईपीओ १ लाख ९९ हजार २०० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईपीओे निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।