वैशाख ४, काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।
यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान शुरु गर्नेछन् । अन्तरराष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि शुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।
यसैगरी अर्को ठूलो अन्तरराष्ट्रिय विमानस्थल पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दशैंसम्ममा उक्त विमानस्थलबाट पनि अन्तरराष्ट्रिय उडान गर्ने गरी काम शुरु भएको बताइएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तरराष्ट्रिय उडान शुरु गरिने महानिर्देशक अधिकारीले बताए ।
उनले भने, ‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महीनामा सक्ने लक्ष्य राखेका छौँ ।’ नेपालमा कोरोना भाइरस करीब करीब अन्त्य हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । रासस