भरतपुरमा विद्युतका तार भूमिगत गरिँदै, पहिलो चरणमा ३३ केभी लाइनका लागि पाइप बिछ्याइँदै

चितवन । भरतपुर महानगरपालिकाको मुख्य दुई सडकमा विद्युतका तार भूमिगत गरिँदै छ । गोन्द्राङदेखि पुलचोक सडक र बाइपास सडकमा विद्युतका तार भूमिगत गर्ने काम तीव्ररुपमा भइरहेको हो । मेसिनको प्रयोगले जमिनमुनि सुरूङ बनाउने र पाइप बिछ्याउने काम भइरहेको नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । कुल १ अर्ब ३० करोड रुपैयाँ लागतमा विद्युतका तार भूमिगत गर्न लागिएको हो । भारतको टाटा प्रोजेक्ट कम्पनीले यो कामको जिम्मा लिएको छ । दुई वर्षमा काम सक्ने सम्झौता भए पनि यसका लागि चाहिने उपकरण र सामान आउन ढिला भएकोले कामले गति लिन सकेको थिएन । गत जनवरीबाट कामको शुरु गर्ने जिम्मा पाए पनि कम्पनीले उपकरण ल्याएपछि अहिले कामलाई तीव्रता दिइएको हो ।  पहिलो चरणमा ३३ केभी लाइनका तार भूमिगत गर्नका लागि पाइप बिछ्याउने काम गरिएको छ । ३३ केभीका तार भूमिगत गरेपछि ११ केभी र एलटी लाइन क्रमशः भूमिगत गर्ने तयारी गरिएको भरतपुर वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर सन्दीप विक्रम शाहले जानकारी दिए । उनका अनुसार भरतपुर बाइपास रोडदेखि भरतपुर बसपार्कको दुवैतर्फ, बसपार्कबाट गोन्द्राङ्गसम्मको सडकमा एकतर्फी र गोन्द्राङ्गदेखि नारायणगढ पुल्चोकसम्म गरी जम्मा २३ किलोमिटर दुरीमा तार भूमिगत गरिंँदैछ । हाल दुई मिटर गहिरो सुरङ्ग खनेर पाइप बिछ्याउने काम भइरहेको उनले बताए ।  हाल बाइपास सडकमा भरतपुर बसपार्क चोकदेखि भरतपुर आँखा अस्पतालसम्मको सडकखण्डमा पाइप बिछ्याउने काम भइरहेको छ । भरतपुर बसपार्क चोकदेखि गोन्द्राङसम्म सडकको एक साइडमा पाइप बिछ्याएर सकिएको छ । ‘बाइपासमा आठवटा पाइप बिछ्याउछौँ । बसपार्क चोकदेखि मिलन चोकसम्म आठ ओटा र त्यहाँबाट गोन्द्राङ्गसम्म चार ओटा पाइप बिछ्याउछौं,’ उनले भने ।  तार भूमिगत गरेपछि बाहिरी समस्याले खासै असर नगर्ने भएकाले तारमा ‘फल्ट’ आउने सम्भावना एकदमै कम हुने उनले बताए  । ‘यो एउटा अत्यधुनिक प्रविधि हो । यसअघि ललितपुर र हाल पोखरामा पनि यो काम भइरहेको छ,’ उनले भने, ‘यो प्रविधिले दुर्घटना न्यूनीकरण, मर्मतसम्भार खर्च कम, चुहावट कम र शहरको सौन्दर्यता पनि बढ्छ ।’  यो प्रविधिमा एउटा तारमा फल्ट आउँदा जगेडामा राखिएको केबलबाट तत्कालै बिजुली आपूर्ति गर्न सकिन्छ ।  भूमिगत भएपछि तारलाई चट्याङले असर गर्दैन । जसका कारण हावाहुरी आउने र चट्याङ पर्नेबित्तिकै लाइन जाने समस्या पनि हट्ने छ ।