शैनिक ‘कु’ विरुद्ध म्यान्मारमा हजारौंको प्रदर्शन, प्रहरीको गोली प्रहारबाट महिला घाइते

काठमाडौं । म्यान्मारमा सेनाले शासन आफ्नो हातमा लिएपछि सुरु भएको प्रदर्शनमा सहभागी एक महिला गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । ती महिला मंगलवार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएकी थिइन्। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो। मानवाधिकारवादी समूहहरूका अनुसार ती महिलाको टाउकोमा गोली लागेको थियो। प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन्। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन्। बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ। राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन्।