पत्रकारको स्वास्थ्य बीमा सम्बन्धी मापदण्ड तय गर्न समिति गठन

मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ। प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो।

सम्बन्धित सामग्री

साना कम्पनीका शेयरका लागि अलग प्लेटफर्म

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरूको शेयर कारोबारका लागि छुट्टै प्लेटफर्म बनाउने तयारी शुरू गरेको छ । चालू आवको नीतिमा उसले यससम्बन्धी व्यवस्था गरेको थियो र यसबारे समिति गठन गरेर अध्ययन पनि गरेको थियो । त्यसैअनुसार ठूला कम्पनी र साना कम्पनीहरूका लागि अलगअलग व्यवस्था गर्ने तयारी भएको हो । यसले शेयरबजारलाई थप सहज बनाउँदै बजार परिसूचकलाई पनि बढी यथार्थपरक बनाउने अपेक्षा छ । ठूला कम्पनीहरूसरह एकनास व्यवहार हुँदा साना कम्पनीहरू शेयरबजारमा प्रवेश गर्न असहज मानिरहेको अवस्थामा नयाँ व्यवस्था छिटै लागू गर्नुपर्ने देखिएको छ । अहिले केही करोड चुक्ता पूँजी भएका कम्पनी र अर्बौं रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीहरूलाई साधारण शेयर निष्कासनदेखि दोस्रो बजारमा कारोबारसम्मका लागि समान व्यवस्था लागू भइरहेको छ । साना कम्पनीको शेयर संख्या निकै कम हुन्छ भने ठूला कम्पनीको शेयर संख्या निकै धेरै हुन्छ । ती सबैलाई एउटै व्यवस्था गर्नुभन्दा फरक गर्नु उपयुक्त हुने अवधारणाअनुसार बोर्डले यस्तो प्रस्ताव गरेको हो । त्यसैले साना तथा ठूला कम्पनीहरूका लागि शेयर निष्कासनदेखि दोस्रो बजारसम्मका अलगअलग प्लेटफर्ममार्फत गराउनु निकै सकारात्मक हो । बोर्डले यसको सम्भाव्यता, आवश्यकता र अन्तरराष्ट्रिय अभ्यास र त्यसको कार्यान्वयनका लागि अध्ययन समिति गठन गरेको थियो । समितिले प्रस्तुत गरेको अध्ययनको निष्कर्षअनुसार नै बोर्डले साना कम्पनीहरूका लागि अलग प्लेटफर्म बनाउने तयारी गरेको हो । दोस्रो बजारमा अलग प्लेटफर्म बनाउन नेप्सेले साना तथा मझौला कम्पनीहरूलाई छुट्टै सेक्शन निर्माण गर्नुपर्ने हुन्छ । त्यसैका लागि बोर्डले नेप्सेसँग सुझाव मागेको हो । अनलाइन कारोबार गर्दा कस्तो प्रकारको प्रडक्ट किनबेच गर्ने हो भनेर लगानीकर्ताले छान्नुपर्छ । इक्विटी, ऋणपत्र आदि छान्ने ठाउँमा नै साना तथा मझौला कम्पनीहरूको सूची थप्नुपर्ने हुन्छ । त्यस्तै यस्ता कम्पनीहरूको सूचीकरणका लागि शुल्कदेखि मापदण्डसमेत नेप्से निर्धारण गर्नुपर्छ । त्यसै गरी बोर्डले यस्ता कम्पनीहरूको प्राथमिक शेयर निष्कासनका लागि विभिन्न मापदण्ड तय गर्नुपर्ने हुन्छ । ठूला कम्पनीहरूसरह एकनास व्यवहार हु“दा साना कम्पनीहरू शेयरबजारमा प्रवेश गर्न असहज मानिरहेको अवस्थामा नयाँ व्यवस्था छिटै लागू गर्नुपर्ने देखिएको छ । अर्थतन्त्रमा ठूलो योगदान गर्ने साना तथा मझौला उद्योगहरूलाई पूँजी बजारमा प्रवेश गराउन यो सकारात्मक कदम हो । यस्तो व्यवस्थाबाट साना कम्पनीहरूलाई पूँजी संकलनमा सहयोग पुग्नेछ भने ती कम्पनीले शेयर विक्री गरी आफूलाई ठूलो कम्पनी बनाउन सक्ने अवस्थासमेत आउन आउन सक्छ । संसारभरिकै पूँजी बजारमा यस्तो प्लेटफर्म प्रचलनमा रहेको पाइन्छ । छिमेकी मुलुक भारतमा पनि साना तथा मझौला कम्पनीहरूका लागि यस्तो अलग प्लेटर्फको अभ्यास रहेको पाइन्छ । भारतमा सन् २०१२ देखि यस्तो प्लेटफर्म सञ्चालनमा आएको हो तर नेपालमा बल्ल यसका लागि बोर्डले तयारी गरेको छ । ढिलै भए पनि बोर्डको यो कदमले पूँजी बजारलाई सकारात्मक सहयोग गर्नेछ । कस्ता कम्पनीलाई साना तथा मझौला कम्पनी भनेर वर्गीकरणमा विवाद भने हुन सक्छ । भारतमा ३ करोडदेखि २५ करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका कम्पनीहरूलाई यस्तो वर्गमा राखेर कारोबार गराउने गरिएको छ । नेप्सेका अधिकारीहरूले यस्तो अलग प्लेटफर्म तत्काल बनाउन कठिन हुने र थप अध्ययन गर्नुपर्ने बताएका छन् । बोर्डले यसबारेमा अध्ययन गराइसकेपछि नेप्सेले थप अध्ययन गराउनुपर्ने हुन्छ कि हुँदैन त्यो नियामक र बजार सञ्चालकको कुरा हो । तर, यसलाई सकेसम्म चाँडो कार्यान्वयनमा लैजानु पूँजी बजारको विस्तारका लागि आवश्यक देखिन्छ । साना तथा ठूला कम्पनीहरूलाई एउटै प्लेटफर्ममा राखेर कारोबार गराउनु उपयुक्त पनि होइन । शेयर संख्या, चुक्ता पूँजी, कारोबार आदिका आधारमा यी कम्पनीको जटिलता पनि फरकफरक हुन्छन् । यस्तोमा सबै कम्पनीहरूलाई एउटै प्लेटफर्म र मापदण्ड तथा शुल्क जरीवानाजस्ता कुरामा समान व्यवहार उपयुक्त हुँदैन । यी सबै पक्ष समेटेर उचित मापदण्ड बनाई साना तथा मझौला कम्पनीलाई शेयरबजारमा सहज बनाउन ढिला गर्नु हुँदैन ।