केन्द्रीय उखु उत्पादक सहकारी संघले रू. १ अर्बको लगानीमा चिनी मिल स्थापना गर्न लागेको छ । यो मुुलुककै सबैभन्दा ठूलो चिनी मिल भएको प्रवद्र्धकको दाबी छ । यसको क्षमता वार्षिक २५ हजार क्विन्टल उखु प्रशोधन गर्न सक्ने क्षमता छ ।
केन्द्रीय उखु उत्पादक सहकारी संघले गत चैत २६ गते सहकारी विभागमा उद्योग दर्ता गरेको थियो । सहकारी संस्थाहरूले मिल स्थापना गर्न उद्योग सहकारी विभागमा दर्ता गरे पुग्ने व्यवस्था छ । केन्द्रीय उखु उत्पादक सहकारी संघले मेसिन खरिद कोटेशनका लागि रू. ४७ करोडमा विनियोजन गससकेको छ । नोवटा केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले चिनी मिलको शेयर खरिद गर्न लागेको हो । चिनी मिल सञ्चालनमा आएपछि दैनिक उद्योगभित्र १ हजार र उद्योगबाहिर पनि ५ सय जनाले रोजगारी पाउने बताइएको छ । संघले मिलको मेसिन खरिदको लागि सरकारसँग ५ प्रतिशत अनुदान मागेको छ ।
अरू चिनी मिलले पहिलो चरणमा चिनी र स्पिरिट उत्पादन गर्ने बताइएको छ । स्थापना हुन लागेको चिनी मिलको शेयर खरिदका लागि नेशनल ट्रेडिङ लिमिटेडले प्रस्ताव राखेको छ । उसले उत्पादित चिनी विक्री वितरणका लागि पनि सहकारीसँग प्रस्ताव गरेको छ ।
अहिले केन्द्रीय उखु उत्पादक सहकारी संघमा जिल्लामा र विषयगत गरी ३८९ सहकारी संघ दर्ता छन् । सिराहा, महोत्तरी, धनुषा र सर्लाहीका उखु उत्पादक सहकारीको अग्रसरतामा चिनी मिल स्थापना हुन लागेको हो ।
वर्ष ५, अंक ४४, २०६७, असार २१– २७