चैत ६, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लमिटेडले छैठौं वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ ।
कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाका लागि तय भएका छन् ।
साधारण सभा तथा लाभांश प्रयोजनका चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।