दोहोरो अंकले बढेको बजारमा २ कम्पनीको शेयर मूल्यमा सर्किट, १ अर्ब ३२ करोड बराबरको शेयर किनबेच

वैशाख ६, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंलवार नेप्से परिसूचक १३ दशमलव ३७ अंक बढेको छ । नेप्से परिसूचक २ हजार ३५७ दशमलव २४ विन्दुमा पुगेको हो ।  यस अवधिमा कारोबारमा आएका २२९ ओटा धितोपत्रको ३२ लाख १३ हजार १९५ कित्ता शेयरको २७ हजार ८४१ पटकमा रू. १ अर्ब ३२ करोड बराबरको शेयर किनबेच भएको छ ।  दुई दिनदेखि घटेको बजार मंगलवार भने बढेर भन्दा भएको छ । घटेको बजारमा खरीदकर्ताहरु हावी भएकाले मंगलवार बजार बढेको हो । अब विस्तारै चुनावी माहोल सृजना हुन लागेको र  वित्तीय प्रणालीमा तरलता सहज हुने अपेक्षाले पनि बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ  ।  बजार धेरै नै घटिसकेकाले अब बजारमा विस्तारै खरीदकर्ता आउने सम्भावना रहेको एक शेयर विश्लेषकले बताए । यसोत शेयर बजार सधै बढिरहने पनि होइन, घटिरहने पनि होइन । यस बिचमा लगानी गर्नुपूर्व लगानीकर्ताले आफ्नो लगानी रणनीति अनुरुप कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रो सँग केलाएर लगानी गरेकोमा प्रतिफल प्राप्त हुने देखिन्छ ।  कारोबारमा आएका २२९ धितोपत्र मध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएुसँगै सकारात्मक सर्किट लागेको हो ।  नेष्डो समृद्ध लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबारमा आएको हो भने ग्रीन भेन्चर्सको शेयर कारोबार दोस्रो बजारमा मंगलवारदेखि आएको हो ।  सोही कारण यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । त्यसैगरी मंगलवार सबैभन्दा बढी दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव २ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २४८ मा झरेको हो ।  त्यसैगरी, दोस्रोमा कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव ६४ प्रतिशत घटेर रू. १ हजार २७० कायम भएको छ । मंगलवार सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । कम्पनीको रू. ६ करोड ३० लाख बराबरको शेयर खरीद विक्री भएको हो । त्यसैगरी दोस्रोमा हिमालयन डिष्टीलरीको रू. ४ करोड ३५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।