आर्थिक र सामरिक चुनौतीको राडारमा पाकिस्तान

पाकिस्तानले उषा कालदेखि नै एक भाष्य निर्माण गरेको छ : इस्लामिक राज्यको अवधारणाअनुरूप राज्य सञ्चालन । भूराजनीतिक बनोटले गर्दा पाकिस्तान अन्तरराष्ट्रिय मञ्चमा जहिले पनि सक्रिय खेलाडी रहेको छ । दक्षिण एशिया, पूर्वी एशिया र मध्यएशियालाई जोड्न सक्ने सामथ्र्य भएको भूगोलले गर्दा पाकिस्तान जहिले पनि शक्ति केन्द्रहरूसँग नजिक रहेको पाइन्छ । सन् १९५६ मा अमेरिकाको सुरक्षा छातामा आएको पाकिस्तानले अफगानिस्तानमा अमेरिकी सैनिक आक्रमणका लागि आवश्यक वातावरण निर्माण गरेको थियो । अमेरिकाले इराकमा आक्रमण गर्दा पाकिस्तानले सम्पूर्ण सामरिक अभ्यास गरेको थियो । भारतसँग युद्ध हुँदा चीन र अमेरिकालाई एक मञ्चमा ल्याउन सक्ने सामथ्र्य पाकिस्तानसँग थियो । सन् १९७१ मा भारतसँग युद्ध हुँदा पाकिस्तानको पक्षमा अमेरिका र चीन सैन्य सहयोगका लागि तम्तयार थिए । खाडी मुलुकहरूसँग सघन सम्बन्ध हुनु, चीनसँग प्रगाढ सम्बन्ध हुुनु र भूराजनीतिक बनोट अब्बल हुनु पाकिस्तानको विशेषता भए तापनि पाकिस्तान आर्थिक रूपले टाट पल्टने सँघारमा देखिन्छ । सन् १९५८ देखि हालसम्म अन्तरराष्ट्रिय मुद्राकोषले २२ पटक टाट पल्टिनबाट पाकिस्तानलाई जोगाइसकेको छ । अहिले पाकिस्तानको राज्यकोषमा ३ अर्ब अमेरिकी डलर मात्र देखिएको छ । अन्तरराष्ट्रिय मुद्राकोषबाट १ दशमलव २ बिलियन रकम प्राप्त गर्न पाकिस्तानलाई हम्मेहम्मे भइरहेको छ । पाकिस्तानी सरकारले अन्तरराष्ट्रिय मुद्राकोषको दबाबमा पूरक बजेट घोषणा गरेको छ । १७० अर्ब कर जम्मा गर्ने महत्त्वाकांक्षा बोकेको उक्त बजेटले जनताको दैनिक जनजीवनलाई कष्टकर बनाएको देखिन्छ । मूल्यवृद्धि ३० प्रतिशतले बढेको छ । २०० रूपैयाँ लिटर दूध, चामल प्रतिकिलो ३०० र ग्यासमा ११२ प्रतिशतको मूल्यवृद्धिले गर्दा पाकिस्तानको जनजीवन अस्तव्यस्त देखिएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यसको दोषा पाकिस्तानको सैन्य संस्थालाई दिएका छन् । इमरानले रसियासँग सस्तो मूल्यमा ऊर्जा किन्न आवश्यक वातावरण निर्माण गरे तापनि पाकिस्तानी सैनिक नेतृत्वले गर्दा त्यसो भएन । पाकिस्तानी सैनिक नेतृत्व पुटिनको युक्रेन नीतिलाई आलोचना गरेर अमेरिकी सत्तालाई खुशी पार्न चाहन्छ । १२ प्रतिशतबाट मूल्यवृद्धि ३० प्रतिशतमा बढ्नुमा सैन्य सत्ताको दोष रहेको इमरानको आरोप रहेको छ । पाकिस्तानमा सबभन्दा बढी रजाइँ गर्ने सैनिक नै हुन् । पाकिस्तानको राज्यसत्तामा सैनिकको हालीमुहाली हुनुको कारण त्यहाँको राजनीतिक र कूटनीतिक भाष्य नै हो । पाकिस्तानले सदैव काश्मिरलाई राष्ट्रिय मुद्दा बनायो । एकातर्फ राज्य संयन्त्रलाई इस्लामीकरण गर्‍यो भने अर्कोतर्फ सैनिक सत्तालाई बलियो बनाउँदै प्रजातान्त्रिक मूल्य र मान्यताको मानमर्दन गर्दै गयो । यही कारण आर्थिक, शैक्षिक र राजनीतिक विकास पाकिस्तानी सत्तापक्षको मानसपटलमा रहेन । टाट पल्टन आँटेको मुलुकको मित्रमण्डली पनि कमजोर हुँदै जाने कुरा तथ्यले सावित गरेको छ । पाकिस्तान–चीन मैत्री सम्बन्धलाई पाकिस्तानी राष्ट्रपति अरिफ अलवीले समुद्रभन्दा गहिरो, पहाडभन्दा अग्लो र महभन्दा गुलियो भनेका थिए । तर, टाट पल्टन लागेको पाकिस्तानमा चीनले आफ्नो कन्सुलर कार्यालय बन्द गरेको छ । चिनी नागरिकहरूलाई सचेत हुन समेत सूचना दिएको छ । शुरूदेखि नै चीनसँगको सम्बन्ध अब्बल देखिए पनि कालान्तरमा तिक्तता बढेको देखिन्छ । यसको कारक तत्त्वमध्ये एक सिपेक योजना हो । चीन पाकिस्तान कोरिडोर नामक गुरुयोजना ६५ विलियन अमेरिकी डलरको रहेको छ । पाकिस्तानको कुल ऋणमा ३० प्रतिशत अंश चीनको रहेको छ । उच्च ब्याजदरको यस ऋणका कारण पाकिस्तानी अर्थतन्त्र संकटमा परेको छापाखानाहरूले सम्प्रेषित गर्दा कट्टरपन्थी र इस्लामी आतंकवादीहरूले चिनियाँ नागरिक र श्रमिकमाथि पटकपटक हमला गरे । चिनियाँ सरकारले सिपेक योजनालाई कार्यरूप दिन २२ हजार सैन्य जत्था पाकिस्तानमा राख्ने प्रस्ताव गरे तापनि पाकिस्तानको सेनाले स्वीकारेन । फलस्वरूप चीनले सांकेतिक रूपमा आफ्नो उपस्थिति घटाउने घोषणा गर्‍यो । पाकिस्तान चीनबीच चिसिएको सम्बन्ध आफैमा अर्थपूर्ण रहेको छ । सन् १९५१ म स्थापित भएको चीन पाकिस्तान मैत्री सन् १९५६ मा शान्ति र मित्रताको सन्धिमा रूपान्तरित भएको थियो भने सन् १९६३ मा सीमा विवाद समाधान भएको थियो । सन् १९८० मा चीनको सक्रियता र सहयोगमा नै पाकिस्तानले आफ्नो आणविक क्षमतालाई अगाडि बढाएको थियो भने सन् २०१३ मा पाकिस्तान चिनियाँ रेशम मार्गको गुरुयोजनाका यात्री भएको थियो । सिङ्याङमा भिगर मुसलमानमाथि भइरहेको अन्याय र अत्याचारलाई पश्चिमा जगत्ले विरोध गरे तापनि चीनको पक्षमा मतदान गर्ने मुलुक पाकिस्तान नै थियो । टाट पल्टन लागेका बेला साउदी अरेबिया, यूएई र कतार पनि सहयोग गर्न अगाडि आएको देखिँदैन । कतारले त धितोमा पाकिस्तानको ग्यास प्लान्ट नै राख्ने प्रस्ताव राखेको छ । पाकिस्तानको बिग्रँदो अवस्थाको कारण उसको दर्शन नै हो । अर्थात् जुन दर्शनबाट पाकिस्तानको जन्म भएको थियो, त्यो नै मिथ्या थियो । पाकिस्तानका प्रख्यात लेखक हुसेन हकानीले पाकिस्तानको जन्मदाता जिन्हासँग पाकिस्तानको भविष्यको रूपरेखा नभएको कुरा उल्लेख गरेका छन् । जिन्हाले पाकिस्तानलाई पूर्णरूपमा इस्लामीकरण गर्न खोजे तापनि सन् १९७१ मा पाकिस्तानको विभाजन भई किन बंगलादेशको जन्म भयो भन्ने आफैमा यक्ष प्रश्न हुन गएको छ । सन् १९५२ ताका पाकिस्तानमा इस्लामीकरणबारे व्यापक बहस भएको थियो । मुनिर कमिशनले ७२ ओटा इस्लाम धर्मगुरुसँग संवाद गरेको थियो । प्रत्येक धर्मगुरुले आफ्नै मत वा अरूभन्दा फरक मत राखेका थिए । पाकिस्तानले आगामी दिनमा आफ्नो जनताको हकहितका लागि आर्थिक महत्त्वाकांक्षा बोक्दै दक्षिण एशियाली अर्थतन्त्रसँग जोड्दै व्यापार र कारोबार बढाउनुपर्छ । कट्टरपन्थी र सैनिक जत्थालाई कमजोर गर्न अर्थतन्त्र र प्रजातन्त्रलाई अब्बल बनाउनुपर्छ । श्रीलङ्का र पाकिस्तान संकटमा पर्दा यसको पराकम्पन अरू दक्षिण एशियाली मुलुकहरूले झेल्नुपर्ने सम्भावना हुन सक्छ । यस अर्थमा पाकिस्तानबाट पाठ सिक्नुपर्छ । लेखक विश्व मामिला सम्बन्धी अध्येता हुन् ।