वैशाख ८, काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भइसकेको भन्दै भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएको छ ।
यसअघि कोभिड र अदालतमा परेका मुद्दाका कारण पटक पटक निर्धारण भएर स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा यतिबेला भने निर्वाचन आचार संहिताका कारण फेरि सर्ने भएको हो । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा आगामी १७ वैशाखमा गर्नका लागि निर्वाचन आयोगसँग अनुमति माग गर्दै पत्र पठाएको थियो ।
सो पत्रको विषयमा बुधवार छलफल गर्दै आयोगले निर्वाचन सकिएपछि परीक्षा गर्नुपर्ने निर्णय गरेको छ । यसअघि भन्सार विभागले गत २० चैतमा सूचना प्रकाशित गर्दै १७ वैशाखमा भन्सार एजेन्टको परीक्षा निर्धारण गरेको थियो । तर, आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचन आचारसंहिता लागू भइसकेकाले स्थानीय निर्वाचन अघि परीक्षा नगर्न आयोगले सूचित गरेको छ ।
भन्सार विभागले ६६० जना भन्सार एजेन्टका लागि २०७७ चैतमा सूचना जारी आवेदन माग गरेको थियो ।
सो अनुसार ९ हजार २३ जनाले भन्सार एजेन्टका लागि आवेदन दिएका छन् । पटक पटक अवरुद्ध हुँदै आएको परीक्षा अन्तिम पटक गत २८ फागुनका लागि निर्धारण गरिएको थियो । तर, उच्च अदालत पाटनमा परीक्षा नगर्न आदेश माग गर्दै रिट परेपछि परीक्षा स्थगित भएको थियो ।