काठमाडौं । गत कात्तिक २० गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यसूची अनुसार गोलभेडा ठूलो (भारतीय)को औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ थियो । त्यसको दुई सातामा अर्थात् मंसिर ४ गते (सोमवार) भने त्यसको औसत मूल्य प्रतिकेजी ९६.६७ रुपैयाँ कायम भएको छ ।
त्यो अवधिमा भारतीय गोलभेडाको भाउ उच्च दरमा बढ्दा नेपाली गोलभेडाको भाउ भने स्थिर देखिएको छ । समितिका अनुसार गत कात्तिक २० गते गोलभेडा ठूलो (नेपाली)को भाउ प्रतिकेजी ६५ रुपैयाँ थियो । सोमवार पनि गोलभेडाको मूल्य सोही दर कायम गरिएको छ ।
भारतीय गोलभेडाको मूल्य बढ्दा नेपालीको भने स्थिर देखिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार भारतीय गोलभेडाको माग बढेकाले मूल्य बढेको हो । ‘भारतीय गोलभेडा (ठूलो) खपत हुने होटल र रेष्टुरेन्टमा हो । तिहार र छठपछि होटल र रेष्टुरेन्टहरू खुलेपछि यसको माग बढ्यो । माग बढ्दा मूल्य पनि बढ्यो,’ उनले भने । होटल र रेष्टुरेन्टमा सलाद बनाउन भारतीय गोलभेडा (ठूलो) प्रयोग गरिने उनले बताए ।
नेपाली गोलभेडा (ठूलो)को तुलनामा भारतीय गोलभेडा (ठूलो)मा गुलियोपना बढी हुने भएकाले होटल र रेष्टुरेन्टमा यसको खपत बढी हुने गरेको उनको भनाइ छ । ‘भारतीय गोलभेडाको तुलनामा नेपाली गोलभेडामा अमिलोपन बढी हुन्छ,’ उनले भने ।
यो अवधिमा तरकारीमा प्रयोग गर्ने गोलभेडाको भाउ भने घटेको छ । समितिका अनुसार गत कात्तिक २० गते गोलभेडा सानो (लोकल)को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ रहेकोमा सोमवार यसको भाउ प्रतिकेजी २५ रुपैयाँ तोकिएको छ ।