श्रीराम सुगर मिल्सको सामान चोरी

रौतहट । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको मेशिन सञ्चालन गर्ने मोटर र केही फलामे सामान चोरी भएको छ । दुई वर्षदेखि बन्द रहेको मिलमा सुरक्षा प्रबन्ध नहुँदा सामान चोरी भएको हो । बन्द मिलको बाहिरी भागको रेखदेखका लागि चौकीदार भए पनि भित्रबाट सामान चोरी भएको छ । मिलको फलाम चोरी गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई  पक्राउ गरेको छ । मिलका सहायक प्रशासकीय अधिकृत श्याम यादवले प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कारबाही गरेपछि सामान फेला परेको बताए । मिलको वरपर पर्याप्त घेराबार नभएको र सुरक्षा गार्ड अभावले सामान चोरी भएको उनको भनाइ थियो । मिलको पूर्वी भागका घेराबार स्थानीयले भत्काइदिएकाले त्यहीँबाट चोर भित्र पसेको अनुमान गरिएको छ । अहिले ५/६ जना सुरक्षागार्डले मिलको रेखदेख गरिरहे पनि गाउँका मानिस मिलमा पस्ने गरेको बताइएको छ । लामो समय बन्द मिलको केही सामान चोरी हुनुका साथै  मर्मत र सरसफाइ अभावले अधिकांश मेशिनमा खिया लाग्न थालेको यादवले बताए । मिल बन्द हुनुअगावै २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ घाटा बेहोरेको मिल प्रशासनले जानकारी दिएको छ । पछिल्लो १० वर्षसम्म लक्ष्यभन्दा कम उखु क्रसिङ गर्न थालेपछि मिलले घाटा बेहोर्नुपरेको थियो । पछि किसानको बक्यौता रकम तिर्न नसकेपछि बन्द भएको उखु उत्पादक संघ रौतहटले बताएको छ । श्रीराम सुगर मिल स्थापनाको केही वर्षसम्म मुनाफामा चले पनि  १० वर्षयता १५/२० लाख क्विन्टलभन्दा कम उखु क्रसिङ गर्न थालेपछि घाटामा गएको हो । २६ वर्षदेखि सञ्चालनमा रहेको चिनी मिल बन्द हुँदा उखु किसान मर्कामा परेका छन् । अहिले जिल्लामा बाबा वैद्यनाथ चिनी मिल मात्र सञ्चालनमा छ ।