खानेतेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खानेतेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । केही दिनयता बजारमा खानेतेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरूप जरिवाना गरिएको जनाइएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताए । उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार कारबाहीस्वरूप रु. तीन÷तीन लाख जरिवाना गरिएको हो । पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु. ४०, सनफ्लावर तेल प्रतिलिटर रु. ४० र भटमासको तेल लिटरमा रु. २० भन्दा बढीले मूल्य बढाइएको छ । अनुगमनका क्रममा अस्वाभाविक रूपमा बढाइएको खानेतेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानुनअनुसार थप कारवाही हुने जनाइएको छ । व्यवसायीहरू भने मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको बताउँछन् ।