बचत तथा ऋण सहकारीमा नेतृत्व विकास

बचत तथा ऋण सहकारीहरूको नेतृत्व रूपान्तरणकारी हुन आवश्यक छ । यसकोे नेतृत्व त्यागबाट मात्र स्थापित हुन सक्दछ । अभियानमा योगदान नगर्ने बचत तथा ऋण सहकारी व्यवस्थापनमा योगदान नभएका व्यक्तिले सहकारी अभियानको नेतृत्व लिन सक्दैन । सहकारिताको कसीमा राम्रो देखिएको व्यक्ति नै अभियानको नेतृत्वमा स्थापित हुँदा अभियानको स्थायित्व र विकासमा योगदान पुग्छ ।  योजनाबद्ध उत्तराधिकारी विकासको सिद्धान्त बचत तथा ऋण सहकारीहरूको नेतृत्व संस्थागत विकासका रणनीतिहरूको जानकार र योजनाकार हुुनुपर्छ । सहकारीहरूमा अध्यक्ष हुन उपाध्यक्षलाई तयार गर्न सरल योजना हुन सक्छ । संस्थाको व्यावसायिक रणनीतिहरू निर्माण तथा कार्यान्वयनमा जिम्मेवारी लिएको व्यक्ति जसले अभियान भोगेको छ उसलाई पछाडि पारेर नयाँ नेतृत्व स्थापित गर्दा अभियान कमजोर बनेको पाइन्छ । त्यसैले हरेक संस्थामा नेतृत्व उत्तराधिकारी विकासको दायित्व वर्तमान नेतृत्वको हुन्छ । उत्तराधिकारी विकासको लिखित योजना नै संस्थाहरूमा हुन आवश्यक हुन्छ ।   नेतृत्व विकास र उत्तराधिकारी योजना सम्मिश्रणको सिद्धान्त  सामान्य उत्तराधिकारी विकासको नियम नेतृत्व विकास र हस्तान्तरण मिश्रित ढाँचामा हुनुपर्छ वा विकासको चरणमा नै आगामी नेतृत्वको विषयमा स्पष्ट खाका आएको हुनुपर्छ । नेतृत्व विकासको अवसरमा एक जनाको सहभागिता रहने अर्को व्यक्ति नेतृत्वमा आउने हुँदा संस्थाको काममा असर पर्न सक्छ । त्यसैले संस्थाले नै नेतृत्व विकास योजनामा नै पुस्तान्तरणको योजना समावेश गर्नुपर्छ । नेतृत्वमा उत्तराधिकारी विकास फरक विषय नभएर नेतृत्व विकासको एउटा अवयव हो । त्यसैले बचत तथा ऋण सहकारी अभियानमा अध्यक्ष वा प्रमुख कार्यकारी अधिकृतको उत्तराधिकारी विकास आकस्मिक नभई नेतृत्व विकास योजनामा आधारित हुनुपर्छ ।  सबै तह र पदमा उत्तराधिकारी विकासको सिद्धान्त  बचत तथा ऋण सहकारीहरूको नेतृत्व विकास एक पद वा तहको मात्र विषय बनाउनु हुँदैन । यो आन्तरिक प्रणालीको सबै तह र पदको पुस्तान्तरणको तयारी गरिएको हुनुपर्छ । उत्तराधिकारी विकास योजनाले तल्लो तहकोलाई कम उत्प्रेरणा सृजना हुन सक्छ भने माथिल्लो तहका लागि दबाब । जसले गर्दा संस्थागत विकासमा थप योगदान पुग्छ । कुनै पनि तहमा पश्चगामी नेतृत्व हस्तान्तरणले विकासको गति कम गर्छ । धेरै संस्थाहरूको विभिन्न तहमा नेतृत्वको पुनरावृत्ति अधिक भएको पाइन्छ । यसले संस्था र सदस्यहरूको हितलाई कमजोर बनाउँछ । नयाँ नेतृत्वको नयाँ सोचले नै संस्थागत विकासमा योगदान पुग्ने अपेक्षा लिइएको हुन्छ । नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिविम्बको आत्मीकरण  नेतृत्व उत्तराधिकारी विकासमा पनि नेतृत्व विकासको चक्र नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिबिम्बको आत्मीकरणले सक्षम नेतृत्व जन्मन सहयोग पुग्छ । नेतृत्व गर्ने अवसर नपाएको व्यक्ति सीधै कुनै पदको नेतृत्वमा जाँदा भूमिका कस्तो हुन्छ परीक्षण भएको हुँदैन । त्यसैले जुन पदको नेतृत्व उत्तराधिकारी विकास गर्ने हो उक्त पदको जिम्मेवारी बुझेको नेता हुन आवश्यक छ । नेतृत्वको अभ्यास गर्ने अवसर नपाएको वा गरेको नेतृत्वमा सहकर्मीहरूको पृष्ठपोषणको अवसर नभएको वा आफैले नेतृत्व गर्दाको प्रतिविम्बको महसूस नगरेको व्यक्तिले वास्तविक नेतृत्व गर्न सक्दैन । त्यसैले संस्थागत नेतृत्वको दिगोपनका लागि निकटतम पदलाई उत्तराधिकारी विकासको पहिलो खुड्किलोको रूपमा स्वीकार गरिएको हुन्छ । खुला र पारदर्शिताको सिद्धान्त  उत्तराधिकारी विकास खुला र पारदर्शी विधिमा आधारित हुनुपर्छ । सबै तहमा उत्तराधिकारी विकासको अभ्यास स्थापित हुँदा सबैको विकासको अवसर पनि सृजना हुन्छ । खुलारूपमा छलफल, बहस र जिम्मेवारी प्रदानले नेतृत्व खारिएर आउने हुन्छ । यसले काममा प्रतिस्पर्धाको वातावरण सृजना गर्छ । पारदर्शी विधिले मात्र असल नेतृत्व स्थापित हुन सक्छ । नेतृत्व विकासको विधि पारदर्शी नभएमा वा सबैलाई समान अवसर सृजना नगरिएमा भविष्यमा पनि कार्य प्रगति कमजोर रहन सक्छ ।  सामान्य, लचिलो र विकेन्द्रित विधि र प्रक्रियाको सिद्धान्त हरेक संस्थाले नेतृत्व उत्तराधिकारी विकासको सामान्य संस्कारको विकास गर्नुपर्ने हुन्छ । यो संस्कार सरल विधिमा आधारित हुनुपर्छ । साथै प्रक्रिया लचिलो एवं विकेन्द्रित हुन आवश्यक हुन्छ । नेतृत्व विकास माथिको आदेशमा हुनै सक्दैन । कार्यक्षेत्रमा गरेको र गर्न सक्ने योगदानमा आधारित हुन्छ । त्यसैले कसैको खोजीबाट आएको नामावलीबाट स्थापित भएको नेतृत्वले भन्दा अभियानमा भिजेका नेतृत्वहरूको कार्यसम्पादन स्तर हजारौं गुणा राम्रो हुन्छ । सबै सहभागी हुन सक्ने विकेन्द्रित विधिमा आधारित भई संस्थामा आवश्यक शीप र दक्षतासमेत समेटेर आएको नेतृत्वले जतिसुकै कठिन समयमा पनि सही नतिजा निकाल्न सक्छ ।  निरन्तर अनुगमन तथा मूल्यांकनको सिद्धान्त  उत्तराधिकारी विकासको योजना कार्यान्वयनको अनुगमन अत्यावश्यक हुन्छ । उत्तराधिकारी विकास योजना अनुगमन संयन्त्र संस्थामा हुन आवश्यक छ जसले सही नेतृत्व विकासमा योगदान गर्छ । निरन्तर अनुगमन गरी आवश्यक सुधार गर्न सकियो भने मात्र नेतृत्व स्थापित हुन सक्छ । बचत तथा ऋण सहकारी अभियानमा नेतृत्वको उत्तराधिकारी महत्त्वपूर्ण विषय हो । नेतृत्व परिवर्तन नै संस्थागत विकासको आधार हो । बचत तथा ऋण सहकारी संघहरूमा एउटै पदमा एक व्यक्ति एक कार्यकाल हुनैपर्छ किनकि लाखौंको संख्यामा रहेका अभियानकर्मीहरूको प्रतिनिधित्व संघहरूले गर्न सक्नुपर्छ । यसबाट संस्थामा प्रजातान्त्रिक संस्कार विकास हुन सक्छ भने संस्थाको स्थायित्वको सुनिश्चितता हुन जान्छ । बचत तथा ऋण सहकारी अभियानकर्मीहरूले आफ्नो नेतृत्व आफै छान्न सक्ने क्षमता र अधिकार राख्नुपर्छ । यसबाट मात्र अभियान सुदृढीकरण र शुद्धीकरण सम्भव छ । नेतृत्वको असल पथप्रदर्शनले मात्र अभियान थप उचाइमा पुग्न सक्छ । निरन्तर सिकाइ, निरन्तर विकास, सादा जीवन उच्च विचार भएको व्यावहारिक रूपमा अभियानमा योगदान गरेका स्थापित नेतृत्व आजको आवश्यकता हो जुन उत्तराधिकारी योजना निर्माण र कार्यान्वयनबाट सम्भव छ ।  लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष हुन् ।