सीमा पार रेमिट्यान्स सेवा विस्तारका लागि मनीग्रामले इसेवा मनी ट्रान्सफरसँग गर्‍यो साझेदारी

वैशाख ८, काठमाडौं । मनीग्राम इन्टरनेशनलले एफ वान सफ्ट ग्रुपको इसेवा मनी ट्रान्स्फरसँग साझेदारीको घोषणा गरेको छ ।  यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा शुरु भइसकेको छ भने इसेवा वालेट पनि शुरुवातको तयारी गरेको कम्पनीले बताएको छ ।  सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसँग जोडिएको खाता निक्षेप सेवाले नेपालमा रहेका प्रायः सबै बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।  नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरु माझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि कोसेढुंगा हुने बताइएको छ ।  विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागि संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो र सन् २०१९ मा मात्र ८ दशमलव २५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।  भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले भने, ‘यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्द्रित क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागि हामी उत्साहित छौं ।’ ‘वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी इसेवासँग साझेदार भइ लाखौं गैर निवासी नेपालीहरुलाई सहज रुपमा रकम पठाउन र सहज रुपमा रकम प्राप्त गर्ने सेवा उपलव्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं ।’   संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनीग्राम र इसेवाको  साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठाउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुवै झन्झट मुक्त हुने कम्पनीको भनाइ छ ।  इसेवाको मूल कम्पनी एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकालले भने, ‘मनीग्रामसंग नयाँ सहकार्यका लागि हामी अत्यन्त उत्साहित छौं । मनीग्रामसँगको साझेदारीले नेपालमा अन्तरराष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ ।’