निर्यातजन्य वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार दुईवटा संस्थालाई थप गरेकामा उद्योग मन्त्रालयले विरोध जनाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ साताअघि नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई प्रमाणपत्र जारी गर्न अधिकार दिएको थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग मन्त्रालयको काममा हस्तक्षेप गरेर प्रमाणपत्र दिने निर्णय गरेको उद्योग मन्त्रालयका एक अधिकारीले अभियानलाई बताए ।
देशबाट निर्यात हुने सामान कुनै पनि उद्योगले उत्पादन गर्ने हुँदा यसको प्रमाणपत्र जारी गर्ने अधिकार उद्योग मन्त्रालयको नै भएको ती अधिकारीको भनाइ छ । वाणिज्यले उद्योगको कार्यक्षेत्रमा हस्तक्षेप गरेको उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन् । ‘वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कुनै अधिकार हुँदैन,’ उनले भनिन् । यो समस्या समाधानको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको खतिवडाले जानकारी दिइन् । विगतमा समेत प्रमाणपत्र दिने अधिकार वाणिज्यमा रहेका कारण यसमा उद्योगले विवाद गर्नुपर्ने आधार नभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नरेश पोखरेलको छ । अन्य मुलकमा समेत प्रमाणपत्र जारी गर्ने अधिकार वाणिज्य मन्त्रालयलाई हुने गरेको उनले बताए । वाणिज्यले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकारलाई लिएर निजीक्षेत्रमा उत्पन्न विवाद समाधानका लागि वाणिज्य मन्त्रालयले पहल गरेको पोखरेलले जानकारी दिए । यो विवाद मिलाउनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिव सूर्य सिलवाललाई संयोजक बनाएको छ ।
वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६