विश्व बैंकिङ क्षेत्रमा मडारिएको कालो बादल : के नेपाली आकाश अछुतो रहन सक्ला ?

सिलिकन भ्याली बैंकको अवसानपछि शृंखलाबद्ध रूपमा अमेरिकामा मात्र होइन, अन्यत्र पनि एकपछि अर्को बैंकमा संकट देखापर्न थालेको छ । यस्तो संकटले कतै विश्वभरि नै बैंकिङ क्षेत्रमा मात्र होइन, समग्र आर्थिक क्षेत्रमा नै संकट आउने त होइन भन्ने किसिमको आशंका उत्पन्न भएको छ । पछिल्लो समय अन्तरराष्ट्रिय रूपमा नै प्रणालीगत रूपमा महत्त्वपूर्ण मानिएका २० ओटा बैंकहरू मध्येको एक स्वीट्जरल्यान्डको ‘क्रेडिट स्वीस बैंक’को अस्तित्व नै संकटमा परेको र अहिले आएर जर्मनीको अर्को ठूलो बैंक ‘ड्वेच बैंक’ पनि अवसानको सँघारमा रहेको भन्ने समाचारहरूले पनि यस्तो आशंकालाई झन् मलजल गरेको छ । ब्याज बढेपछि बोन्डजस्ता दोस्रो बजारमा रहेका लगानी उपकरणहरूको मूल्यमा ह्रास आउन गई बैंकहरूको लगानी डुब्न पुगेको देखिन्छ ।  अमेरिकाको सिलिकन भ्यालीदेखि स्वीट्जरल्यान्डको क्रेडिट स्वीससम्मको संकटको गहिराइ हेर्ने हो भने त्यही नै देखिन्छ । यो छोटो आलेखमा क्रेडिट स्वीस बैंक अवसानका कारणहरूमाथि विशेष चर्चा गर्दै बैंकहरूमा देखिएको यस्तो शृंखलाबद्ध संकटले विश्व बैंकिङ क्षेत्रमा नै संकट आउन सक्ने परिदृश्यमा नेपालजस्ता देशमा समग्र अर्थव्यवस्थालाई संकटबाट जोगाउन राज्यले नै केकस्ता सावधानी अपनाउनु पर्ला भन्नेबारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । चर्चाको शुरुआत आफ्नो अस्तित्व संकटको सँघारमा रहेको क्रेडिट स्वीस बैंकबाट नै गरौं । यो बैंक एकै दिनमा अकस्मात् संकटमा परेको होइन । विगत केही वर्षदेखि नै यो बैंकमा संकटका संकेतहरू देखिन थालिसकेका थिए । सन् १८५६ मा स्थापना भएको र १६७ वर्षे इतिहास भएको यो बैंकले सन् २०२१ मा करीब पौने २ अर्ब डलर बराबरको घाटा सहँदै सन् २०२२ मा आइपुग्दा ७ अर्ब डलरको हाराहारीमा घाटा बेहोरिसकेको थियो । यद्यपि बैंकको पूँजी पर्याप्तता प्राथमिक पूँजीकै टायर १ मा मात्र १४ प्रतिशत कायम थियो । यसबाट बैंकको संकटको प्रवेग कति तीव्र थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । तर, क्रेडिट स्वीस बैंकको संकट अमेरिकामा सिलिकन भ्याली अनि पछि सिल्भर गेटजस्ता बैंकहरू एकपछि अर्को गर्दै धराशयी बन्दै गएपछि मात्र देखिएको सन्दर्भ जोडेर कतिपयले अमेरिकी बैंकको संकट यूरोपमा फैलिएको भनेर आंशिक रूपमा मात्र सही मान्न सकिने विश्लेषण गरेको पनि देखियो । विभिन्न प्रकारका घोटालाहरूमा फसेको मात्र नभई जासूसी संयन्त्रको आमन्त्रणसम्मले गर्दा र बैंकका प्रमुख अधिकारीहरूको बारम्बार परिवर्तन भइरहेको घटनाले समेत यसको संकटका लागि पर्याप्त भूमिका निर्वाह गरेको देखिन्छ । फेरि क्रेडिट स्वीसको संकटको मुख्य कारण यसको ‘अर्केगोज क्यापिटल म्यानेजमेन्ट’मा गरेको ऋण लगानीलाई मानिन्छ । पारिवारिक रूपमा सञ्चालित उक्त हेजिङ कम्पनी गतवर्ष उल्लेख्य घाटामा गएको थियो र क्रेडिट स्वीसजस्तै अन्य बैंकहरूले यसलाई मुख्य ब्रोकरेज सेवा प्रदान गरेका थिए । जब उक्त कम्पनीले क्रेडिट स्वीसको मार्जिन कल तिर्न सकेन अनि बैंक उल्लेख्य घाटा वहन गर्न विवश भएको थियो । यसरी कमजोर जोखिम व्यवस्थापन एवं उपयुक्त रणनीतिको अभाव पनि बैंकको दुर्दशाका लागि थप कारक सिद्ध भएको देखिन्छ ।     परिणामतः गत सेप्टेम्बरदेखि नै बैंकको संकटका बारेमा आम रूपमा हल्ला पैmलिन थालेपछि यसका ग्राहकहरूले तीव्रतर गतिमा बैंकबाट निक्षेप निकाल्न थालेका थिए । आर्थिक वर्षको चौथो त्रैमासमा मात्र बैंकबाट करीब सवा २ खर्ब डलर हाराहारीको निक्षेप निकालिएपछि र बैंक करीब ८ अर्ब डलर (७.२९ स्वीस फ्राङ्क) घाटामा गएको प्रतिवेदन सार्वजनिक भएपछि यसको शेयर मूल्यमा ७५ प्रतिशतसम्मको तीव्र ह्रास आएको थियो । यस्तो अवस्थामा बैंकको प्रमुख लगानीकर्ता मध्येको एक ‘साउदी नेशनल बैंक’ले आफ्नो नियामक निकायको प्रतिबन्धात्मक प्रावधानका कारण थप लगानी/सहयोग गर्न नसक्ने जनाउ दिएपछि मात्र यो बैंकको चरम संकट मुखरित भएको थियो । बैंकिङका अतिरिक्त सम्पत्ति व्यवस्थापन र इन्भेष्टमेन्ट बैंकिङमा समेत संलग्न रहेको र १५० भन्दा बढी कार्यालयहरू भएको यो बैंकसँग ५० हजारभन्दा बढी कर्मचारी र उच्च नेटवर्थ भएका हजारौं धनी व्यक्ति तथा संस्थाहरू ग्राहकको रूपमा आबद्ध थिए । अन्य जेजति कारण भए पनि अहिले देखिएको विश्वव्यापी बैंकिङ संकटलाई कोभिडजन्य संकट नै मान्न सकिन्छ । त्यसमा रूस–युक्रेन युद्धका बाछिटाहरू पनि मिसिएर संकटको भेललाई झन् ठूलो बनाएको छ । यस्तो संकटमा केन्द्रीय बैंकहरूले बढी तरलता प्रवाह गर्दा त्यसले मुद्रास्फीति निम्त्याएको र बढेको मुद्रास्फीतिले ब्याजदरलाई उकास्न मद्दत गरेको देखिन्छ । ब्याज बढेपछि बोन्ड जस्ता दोस्रो बजारमा रहेका लगानी उपकरणहरूको मूल्यमा ह्रास आउन गई बैंकहरूको लगानी डुब्न पुगेको देखिन्छ । अमेरिकाको सिलिकन भ्यालीदेखि स्वीट्जरल्यान्डको क्रेडिट स्वीससम्मको संकटको गहिराइ हेर्ने हो भने त्यही नै देखिन्छ । विश्वव्यापी प्रभाव प्रणालीगत रूपमा महत्त्वपूर्ण मानिएका विश्वका बैंकहरूमध्ये १८औं स्थानमा रहेको बैंकको पतनले पक्कै पनि विश्वभरि नै तरंग ल्याउने नै छ । त्यसैको प्रतिफल स्वरूप हुन सक्छ, अहिले जर्मनीको ठूलो बैंक ‘ड्वेच बैंक’ को सम्भावित अस्तित्व संकटका बारेमा पनि आशंकाहरू बढेका छन् । प्रणालीगत रूपमा महत्त्वपूर्ण भएकै कारण हुन सक्छ यसलाई जोगाउन स्वीट्जरल्यान्डको केन्द्रीय बैंक ‘स्वीस नेशनल बैंक’को मध्यस्थता र अग्रसरतामा अर्को ठूलो बैंक ‘युनियन बैंक अफ स्वीटजरल्यान्ड’ (यूबीएस) ले करीब सवा ३ अर्ब डलरमा यो बैंकलाई खरीद गरी यसको उद्धार गर्ने भएको छ । क्रेडिट स्वीसलाई खरीद गरेपछि यूबीएस बैंक अब आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको दोब्बर आकारको हुने बताइन्छ । जेजस्तो कारणले भए पनि अहिले बैंकहरूमा जसरी एक पछि अर्को संकट देखिन थालेका छन्, त्यसबाट स्वयं बैंकहरूका लागि त पाठ पढाएको छ नै । साथै, देशको समग्र अर्थतन्त्रमा पर्ने सम्भावित संकट टार्न सम्बद्ध देशका सरकारहरूले पनि यथेष्ट पाठ सिक्नु अपरिहार्य देखिन्छ । जसरी बारम्बारको नेतृत्व परिवर्तन पनि स्वीस बैंकको संकटका लागि कारक बन्यो, त्यसले अर्थराजनीतिक नेतृत्व पनि बारम्बार परिवर्तन हुँदा समग्र अर्थतन्त्रमाथि गम्भीर आघात पर्ने कुरा स्पष्ट देखिन्छ । फेरि, यी सबै बैंकहरूको संकटका पछाडि कमजोर जोखिम व्यवस्थापन प्रमुख कारणका रूपमा रहेको देखिन्छ । यो कुरालाई पनि यथोचित मध्यनजर गरेर सम्बद्ध देशहरूले समग्र अर्थतन्त्रको जोखिम मूल्यांकन गर्दै यथोचित व्यवस्थापनका लागि पर्याप्त मात्रामा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । साथै प्रतिफल र लाभ लागतको उचित विश्लेषणविना गरिने लगानीले पनि अन्ततोगत्वा संकटलाई नै निम्त्याउने हुनाले सरकारी खर्चको हकमा पनि यो मननयोग्य नै छ । यही आलोकमा नेपालमा पनि यदि सरकार र सम्बद्ध पक्षहरू सन्निकट संकटप्रति विमुख रही आवश्यक गृहकार्य नगरी केवल राजनीतिक जोड घटाउमा केन्द्रित भइरहने हो भने नेपाली आकाशमा पनि निकट भविष्यमै वित्तीय र आर्थिक संकटको कालो बादल नमडारिएला भन्न सकिँदैन । लेखक बैंकर हुन् ।