विराटनगर (अस) । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी शपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन दलहरूबीच सत्ता भागबण्डा गरी छिटो मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्यता छ ।
कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए । तर, यस बीचमा तिहार, छठ लगायत चाडपर्व परेकाले उनले कात्तिक अन्तिममा विश्वासको मत लिएर मंसिर पहिलो साता नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।
कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गते बस्ने घोषणा गरेका थिए । तर, १७ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।
नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिट्टै विश्वासको मत लिने बताएका छन् । ‘छिट्टै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने र सरकार आफ्नो काममा क्रियाशील हुने भनिएको थियो, तर यसबीचमा छठ लगायत पर्वले २३ गतेको बैठक स्थगित भयो,’ नेता घिमिरेले भने, ‘अब ३० गते वा मंसिरको शुरूमै विश्वासको मत लिने विषयमा छलफल गरी निर्णयमा पुग्छौं ।’ विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार लगायत काममा सरकारले ध्यान केन्द्रित गर्ने उनले बताए ।