आफ्नै घरको जग बसाल्दै जैमिनी

बलेवा । जग्गा अभावका कारण ५ वर्षदेखि थालनी हुन नसकेको जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम शुरू भएको छ । पालिका मुकाम कुश्मीशेरा बजारका स्थानीय बासिन्दाले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो ।    तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणको काम शुरू भएको इन्जिनीयर विवेक सापकोटाले बताए । स्थानीय तह गठनपछि भवन निर्माणका लागि योजना बनाएको नगरपालिकाले अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिने बेला भवनको जग बसाल्ने भएको हो ।    भवन निर्माणको जिम्मेवारी पाएको रविना, प्राकृतिक जुगल जेभीले तत्कालै काम थाल्ने बताएको छ । रू. ८ करोड १७ लाख ६५ हजार ८२ मा निर्माण हुने भवनका लागि नेपाल सरकार र नगरपालिकाले ५०/५० प्रतिशत साझेदारी गर्ने छन् । विसं २०८१ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी माघ २१ गते ठेक्का सम्झौता भइसकेको सापकोटाले जानकारी दिए ।    चार तलाको सुविधा सम्पन्न भवनमा ४२ ओटा प्रशासनीक कोठा तयार हुनेछन् । ‘हामीले यहाँ नयाँ अभ्यास गरेका छौं, भुइँतलाबाट चार तलासम्म विद्युतीय लिफ्ट हुनेछ,’ सापकोटाले भने, ‘अहिले भवनको परिसरका संरचना बन्ने छैनन् तर सबै संरचना बनिसक्दा नगरको प्रशासनिक भवन नमूना हुनेछ ।’ जिल्लामा सरकारी भवनमा लिफ्टको सुविधा भएको यो प्रशानिक भवन दोस्रो हुनेछ । यसअघि धवलागिरिमा नै पहिलो पटक धवलागिरि अस्पताल बागलुङमा लिफ्ट जडान भएको थियो ।    जनप्रतिनिधि आएपछि पहिलो वर्षदेखि नै जग्गा प्राप्तिका लागि प्रयास भए पनि अघिल्लो वर्षमात्रै नगरपालिकाले जग्गा प्राप्त गरेको थियो । नेपाल सरकारले जग्गाको प्लटिङमा लगाएको रोकको मारमा परेको नगरपालिकाले रोक्का फुकुवा भएपछि जग्गा आफ्नो नाममा बनाएको थियो ।    ११ जना स्थानीय बासिन्दाको १८ रोपनी जग्गा एकीकृत गरेर नगरपालिकाले पाँच रोपनी जग्गा प्राप्त गरेको थियो । बाँकी जग्गा प्लटिङ गरेर आवश्यक पूर्वाधार निर्माणपछि सम्बद्ध उपभोक्तालाई नगरपालिकाले फिर्ता दिने छ । कुश्मिसेरा बजारको दक्षिणतर्फ बन्ने भवन जैमिनी नगरपालिकालाई फेरो हालेका ठेउले खोला र टिमुर खोलाको दोभानमा बन्ने छ । कर्मचारीका लागि आवासीय सुविधासमेत भवन परिसरमै हुनेछ । भवन निर्माण भएपछि नगरपालिकाको सेवा प्रवाह सहज हुने नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।    आफ्नै भवन नहुँदा नगरपालिकाले महँगो भाडा तिरेर व्यक्तिको घरबाट प्रशासनिक काम गर्दै आएको छ । रासस