धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई दियो हकप्रद निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईएमई जनरल इन्स्योरेन्स IME General Insurance र शिखर इन्स्योरेन्स  Shikhar Insurance Company Limited लाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो   ।बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको अनुमति दिएको बोर्ड स्रोतले जनाएको छ । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । जस अनुसार आईएमई जनरल इन्स्योरेन्सले  १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो  । अब कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।त्यस्तै शिखर इन्स्योरेन्सले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।  बोर्डबाट अनुमति पाएसंगै कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  बुधबारको बोर्ड बैठकले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति दिने निर्णय पनि गरेको छ।