नेपालमा बसाइँसराइको एक अचम्मको प्रवृत्ति देखिएको छ । सम्पन्न वर्गका सन्तानहरू यूरोप, अमेरिका र अन्य विकसित देशहरूमा बसाइ सरिरहेका छन् । जहाँ सन्तानले भविष्य देख्छ अभिभावकले पनि त्यही देशमा भविष्य देख्छन् । यसरी सम्पन्न वर्गका लागि नेपाल विमानस्थलको एक ट्रान्जिट जस्तो मात्र हुन पुगेको छ । तसर्थ नेपालको सम्पन्न वर्ग नेपालमा थप नयाँ खरीदमा कुनै उत्साह राख्दैन । सम्पन्न वर्गको प्रभुत्व रहेको घरजग्गा, गरगहना, सवारी साधन लगायत महँगा वस्तुहरूको खरीदमा यस वर्गमा कुनै उत्साह छैन । सम्पन्न वर्गको सबैभन्दा नजिकको अनुसरणकर्ता मध्यम वर्ग हो । मध्यम वर्गका लागि पनि नेपाल एकप्रकारको ट्रान्जिटजस्तै बन्न पुगेको छ । यो वर्ग पनि खाडी, मलेशिया, जापान, दक्षिण कोरियालगायत देशबाट आर्जित धनलाई सम्पन्न वर्गले रोजेका देशहरूमा जाने साधनको रूपमा कसरी सदुपयोग गर्ने भन्ने चिन्ताले आतुर छ । यो वर्गलाई पनि नेपालमा थप खरीददारीमा कुनै उत्साह छैन ।
विदेशमा जाने भिसा लागेको भोलिपल्ट आज किनेको गाडी कसरी बेच्ने भन्ने चिन्ता लिँदै आज पैसा भएको मानिसले पनि गाडी किनिरहेको छैन । छोराले अस्ट्रेलिया र अमेरिकामा घर बनाउन थालेपछि नेपालमा बसेको बाबुआमाले थप अर्को घर बनाउन वा तला थप्न किन सोच्छ र ? सम्पन्न वर्गका नेपाल बसेका बाबुआमाका लागि भएको घर, भएका सवारीसाधन त घाँडो सावित भएको सन्दर्भमा यस क्षेत्रमा खरीददारी र थप लगानी कसरी आउँछ र ? नयाँ लत्ताकपडा किन्न त्यो वर्गमा कुन उत्साह आउँछ र ? उताबाट पठाएको उपहारले यताको दैनिक गुजारा चलिरहेको सन्दर्भमा ती वृद्ध अभिभावकहरूले नेपालका पसलमा गएर किन सामान खरीद गर्छन् र ?
बसाइँसराइको अधिकार व्यक्तिगत भए तापनि यसको अनियन्त्रित प्रवाहरोक्न प्रत्यक्ष अप्रत्यक्ष विधिहरू अपनाउन जरुरी देखिन्छ । अन्तरराष्ट्रियबसाइँसराइमा निश्चत थ्रेसहोल्ड राख्नु आवश्यक छ भने आन्तरिक बसाइँसराइलाई रोक्न पनि आवश्यक विधिहरू अपनाउन जरुरी छ ।
सारमा भन्नुपर्दा यसरी नेपालीहरूको अन्तिम गन्तव्य र परम लक्ष्य विदेश बसाइँसराइ भइरहेको सन्दर्भमा विदेशमा सन्तान भएकाहरूलाई नेपालमा खरीददारीमा मोह छैन । विदेशमा आफ्ना सन्तान नगएकाहरूले पनि एक न एक दिन आफ्नो सन्तान पनि विदेश त गइहाल्छ भनेर ती अभिभावकहरूमा समेत न त घरको तला थप्ने रहर छ, न एक टुक्रा थप जग्गा किन्ने चाह नै छ । यसरी विदेशसँग प्रत्यक्ष जोडिएका र जोडिने सम्भावना भएका दुवैथरी वर्ग, जसले नेपालको जनसंख्याको अधिकांश अंशको प्रतिनिधित्व गर्छन्, तिनीहरूमा नेपालमा कुनै पनि आर्थिक गतिविधिमा संलग्न हुने कुनै इच्छा छैन । देशको आर्थिक क्रियाकलापमा सम्पन्न वर्ग र मध्यम वर्गको यस्तो अनुत्साहले मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुने थप जोखिम बढेको छ ।
ग्रामबाट नगरउन्मुख बसाइँसराइ अब नगरबाट विदेशतर्फ उन्मुख भइरहेको सन्दर्भमा हिजो जसरी गाउँहरू खाली हुने समस्या सृजना भएको थियो त्यही समस्या अबको केही समयमा नगरहरूमा पनि देखिने संकेतहरू मिलेका छन् । नगरमा भाडामा लेखिएका प्लेटहरूको वृद्धि एवम् शटर र फ्ल्याटहरू खाली हुने समस्याका पछाडि नगरबाट विदेश उन्मुख बसाइँसराइ प्रमुख कारणका रूपमा रहेको छ । क्रयशक्ति बढी भएका नगरवासीहरू विदेशिँदा बजारमा मागका आउने कमीले निम्त्याउने संकट भयावह रूपमा बढ्दै छ । भनिन्छ, ग्रामहरू आर्थिक गतिविधिविना पनि टिक्न सक्छन् परन्तु नगरहरू आर्थिक गतिविधि कम हुँदा सुक्दै जान्छन् र कालान्तरमा भूत शहरमा रूपान्तरण हुन्छन् । नेपालका शहरहरू यही दिशामा उन्मुख हुँदै गएका छन् । उजाडिन लागेको बस्ती पुरै नउजाडिएसम्म विश्राम लिँदैन भन्ने शास्त्रीय मान्यता नेपालमा पनि लागू हुन सक्ने केही संकेतहरू देखिएका छन् ।
निजामती कर्मचारीका सन्तानहरू निजामती प्रशासनमा छिर्न चाहँदैनन् । जंगी क्षेत्रका कर्मचारीका सन्तानहरू जंगी क्षेत्रमा प्रवेश गर्न चाहँदैनन् । केही अपवादलाई छोड्ने हो भने उद्योग क्षेत्रका सन्तानहरू पनि उद्योग क्षेत्रमा प्रवेश गर्न चाहँदैनन् । शिक्षकको सन्तान शिक्षक हुन चाहँदैन । कृषकका सन्तान कृषक हुन चाहँदैन । यसरी आफ्ना अभिभावकको पेशाप्रति चरम वितृष्णा नयाँ पुस्तामा उत्पन्न भएको छ । सबैभन्दा चिन्ताको विषय यो नयाँ पुस्तावर्ग अन्य विकल्पहरू रोज्नुभन्दा सीधै विदेश पलायनलाई आफ्नो लक्ष्य बनाइरहेको हुन्छ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई आफ्नो पेशालाई अनुकरण गर्न सक्ने गरी व्यावहारिक र सैद्धान्तिक दुवै पक्षबाट पुष्टि गर्न सक्ने क्षमता गुमाइरहेको छ । आदर्शको अवसान र साधनभन्दा साध्यमा बढी जोड दिने र स्थापित सिद्धान्तको उल्लंघन समृद्धिको आधार बनिदिँदा नयाँ पुस्तालाई आफ्नो पेशामा लाग्न उत्प्रेरणा दिने नैतिक साहस पुरानो पुस्ताले गुमाउँदै जाँदा आफ्ना सन्तानलाई ‘मेरो पेशामा अनि मेरो देशमा भविष्य’ छ भनेर सहमत तुल्याउन सकिरहेका छैनन् । पद्धतिमा आधारित भई आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने मनोबल नयाँ पुस्तामा रोपण गर्न नसक्दा यस्तो अवस्थाको सृजना भएको हो । वैदेशिक रोजगार प्रवर्द्धनलाई नेपालको आर्थिक कूटनीतिको षड् अंगमध्ये एउटा अंगको मान्यता प्राप्त हुँदा नयाँ पुस्तामा स्वदेशमा बस्नु भनेको अन्धकारमय भविष्य बनाउनु हो र विदेशमा बसाइँसराइ गर्नु भनेको उज्ज्वल भविष्यको सुनिश्चितता हो भन्ने भाष्य स्थापित गर्न थप मद्दत मिलेको छ ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालको अस्तित्व जोगाउने हो भने वर्तमान अनियन्त्रित बसाइँसराइलाई नियन्त्रण गर्नु आवश्यक भइसकेको छ । बसाइँसराइको अधिकार व्यक्तिगत भए तापनि यसको अनियन्त्रित प्रवाह रोक्न प्रत्यक्ष अप्रत्यक्ष विधिहरू अपनाउन जरुरी देखिन्छ । अन्तरराष्ट्रिय बसाइँसराइमा निश्चत थ्रेसहोल्ड राख्नु आवश्यक छ भने आन्तरिक बसाइँसराइलाई रोक्न पनि आवश्यक विधिहरू अपनाउन जरुरी छ । संघीयताको अवधारणामा राज्यका अधिकारहरू तीन तहका सरकारमा विनियोग गरिएभैंm आर्थिक क्रियाकलापहरू र सेवाको पनि प्रदेश र स्थानीय तहमा हस्तान्तरित हुने अभ्यास लागू हुन आवश्यक भइसकेको छ । भूमिपतिको सुरक्षा र भूमिको हदबन्दीको वर्तमान व्यवस्थामा सुधार आउँदा साथ कृषिको आधुनिकीकरण भई ग्रामीण क्षेत्रको शहरउन्मुख बसाइँसराइको गति धेरै सुस्त गर्न सकिन्छ । नाम कमाएका शिक्षण संस्था र स्वास्थ्य संस्थाका सेवाहरूको विकेन्द्रीकरणले पनि ग्रामीण क्षेत्रबाट शहरतर्फ हुने बसाइँसराइलाई थप कम गर्ने देखिन्छ । आन्तरिक बसाइँसराइलाई न्यून गर्न स्थानीय तहले विशेष भूमिका खेल्न सक्ने देखिन्छ । सारमा भन्नुपर्दा स्थानीय तहले बसाइँसराइ रोक्ने नीति अंगीकार गर्नु आवश्यक भइसकेको छ । यसका लागि कुनै स्थानीय तहमा बसाइँसराइ भएर आउँदा निश्चित मापदण्डहरू अपनाउनुपर्ने, साधनस्रोतमाथि पर्न सक्ने असरको पूर्वमूल्यांकन गरेर मात्र बसाइँसराइको अनुमति दिने जस्ता विषयमा विशेष
ध्यान जानु आवश्यक छ । कुनै स्थानीय निकायले बसाइँसराइको अनुमति दिँदा किन बसाइँसराइ गर्नुपर्यो सम्बद्ध स्थानीय निकायले बसाइँसराइ रोक्न किन सकेन भन्ने कुराको समेत पुष्टि हुने विषयहरू समेटिनु आवश्यक देखिन्छ । यसरी आन्तरिक र बा≈य दुवैथरी बसाइँसराइ नियन्त्रण गर्न सम्बद्ध पक्षहरू समयमै चनाखो हुन आवश्यक छ । जनशक्ति निर्यात नीति र आर्थिक वृद्धि प्राप्त गर्ने नीति आफैमा विरोधाभासी विषय हुन् । जनशक्ति निर्यातसहितको आर्थिक वृद्धि र राजस्व वृद्धिको असम्भव मोडलतिर देशलाई धकेल्नु निश्चय नै बुद्धिमानी कार्य होइन ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।