प्रभु इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम

काठमाडौं (अस) । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ अनुसार तोकिएको समयअगावै आफ्नो कार्यक्षेत्र तोकिएका सम्पूर्ण जिल्लामा तालिम सम्पन्न गरिएको हो । कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपक्षी विज्ञले प्रशिक्षण दिएका थिए । कार्यक्षेत्र तोकिएका मुस्ताङ, म्याग्दी, बागलुङ र स्याङजामध्ये कम्पनीले मुस्ताङ, म्याग्दी र बागलुङमा कात्तिकमै तालिम सम्पन्न गरिसकेको छ । कम्पनीले मंसिर २२ देखि २४ गतेसम्म स्याङ्जामा तालिम समापन गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित वज्राचार्यले बीमा समितिबाट जारी निर्देशिकाअनुसार तोकिएको समयअगावै तालिम सम्पन्न गर्न सकिएकाले बीमा क्षेत्रको दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने बताए । कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जनाभन्दा बढी क्षति मूल्यांकनकर्ता तयार भएकाले आगामी दिनमा कृषि तथा पशुपक्षी बीमाको क्षति मूल्यांकन तथा दाबी भुक्तानीमा सहज हुने उनको भनाइ छ ।