पुष्कर भट्ट, कञ्चनपुर ।
तत्कालिन नेकपा माओवादी केन्द्रका राज्य कमिटि सदस्यसहित नेता कार्यकर्ता राजमोमा प्रवेश गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाका तत्कालिन माओवादी केन्द्रका नेता मानबहादुर टेर (मनोरथ) सहितका नेताहरु राजमोमा प्रवेश गर्नुभएको हो ।
राज्य समिति सदस्य तथा साविक सुडा–दैजि गाविस इन्चार्ज मनोरथ टेर तथा युवा नेताहरु अशोक बोहरा, शंकर विष्ट, जनक महरा लगायत राजमोमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले बुधबार आयोजित एक कार्यक्रममा पार्टीको सदस्यता दिएर स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश गर्दै नेता टेरले राष्ट्रिय जनमोर्चाले नै वास्तविक रुपमा देश र जनताको हितमा काम गर्न सक्ने निष्कर्षमा आफू पुगेको उल्लेख गर्दै स्वार्थका लागि राजनीति गर्नेहरुको पछाडी लागेर देश र भावी सन्तानको भविष्य अन्यौलनमा नपार्न आग्रह गर्नुभयो । उहाँले भ्रमबस विभिन्न पार्टीमा छरिएर रहेका युवाहरुलाई राजमोको झण्डामुनी गोलबद्ध हुन आह्वान पनि गर्नुभयो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, जिल्ला अध्यक्ष रामबहादुर कार्की, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, अखिल (छैठौं) का महासचिव महेशराज जोशीलगायतका नेताहरुले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको थियो ।