भुक्तानी र मूल्यको झमेला खेप्न बाध्य किसानले उखु खेती गर्न छाडेपछि चिनी मिललाई यो सिजनमा उखु अभाव भएको छ । किसानले अघिल्लो वर्ष निकै कम उखु लगाएपछि मिललाई अभाव भएको हो । यही कारण सिजनभन्दा एक महिनाअघि नै मिल बन्द हुने अवस्थामा पुगेको छ ।
उखुको अभावमा सर्लाही र महोत्तरीमा रहेका चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । आवश्यकता अनुसार उखु उपलब्ध नहुँदा ‘नो क्यान’ चिनी उद्योगहरू बन्द हुन थालेका छन् । सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग उखु अभावका कारण बन्द भएको छ । उद्योगमा आएका १२ लाख ३९ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द गरिएको उद्योगका उखु प्रबन्धक पवन सिंहले बताउनुभयो । “उखु अभाव भएपछि आइतबार रातिदेखि उद्योग बन्द गरिसकेका छौँ,” उखु प्रबन्धक सिंहले भन्नुभयो । यता हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग पनि ‘नो क्यान’ मा सञ्चालन भइरहेको छ । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको हो । चार दिनदेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । “विगत चार दिनदेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,” उखु प्रबन्धक रजकले भन्नुभयो, “उखुको अभाव भएपछि उखु क्रसिङ गर्ने दुई वटा मिलमध्ये एउटा ठुलो मिल मात्रै सञ्चालन गरेका छौँ ।” इन्दुशङ्करसँग दैनिक ३५ हजार क्विन्टल र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुई वटा मिल छन् । त्यसमध्ये ३५ हजार क्विन्टल क्षमताको मिल सञ्चालन गरिरहेको उद्योगले जनाएको छ ।