सरकारकै कमजोरीले चिनीको मूल्य अनियन्त्रित

काठमाडौं । पछिल्लो समय चिनीको मूल्यवृद्धि नियन्त्रण हुन नसक्नुमा सरकारकै कमजोरी देखिएको छ । सरकारी अनुदानको चिनी खरीदविक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसँग चिनी खरीदको अनुमति मागेको करीब डेढ वर्ष भइसके पनि सरकारले अनुमति नदिएकाले मूल्य अनियन्त्रित भएको सरोकारवाहरूको भनाइ छ । साल्ट ट्रेडिङले करीब १५ महीनाअघि भन्सार छूटमा ५० हजार मेट्रिकटन चिनी खरीदको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । उद्योग मन्त्रालयले बजेट निकासा लगायत अन्य प्रक्रिया पूरा गर्न उक्त पत्र अर्थ मन्त्रालयमा पेश गरेको भए पनि हालसम्म अर्थबाट कुनै काम अघि बढेको छैन । खरीद प्रक्रिया रोकिँदा साल्ट ट्रेडिङसँग सरकारी अनुदानको चिनी सकिएर बजारमा बजार मूल्य अनियन्त्रित भएको बताइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीका अनुसार अहिले कम्पनीसँग १०० मेट्रिकटन मात्र चिनी मौज्दात छ । उपभोक्ताको मागबमोजिम विक्री गर्ने हो भने यो मौज्दातले एक दिनलाई पनि नपुग्ने भएकाले मौज्दात शून्यमा झर्न नदिन खुद्रा ग्राहकलाई मात्र चिनी बेच्दै आएको उनले बताए । सरकारी अनुदानको चिनी विक्री गरेर बजार मूल्यमा हस्तक्षेप गर्ने निकायसँग चिनी नहुँदा त्यसको प्रत्यक्ष लाभ बिचौलिया तथा ठूला व्यापारिक वर्गले उठाइरहेका छन् । अघिल्लो वर्षको पुसपछि चिनीको खुद्रा मूल्य प्रतिकिलो १५ रुपैयाँ बढेर १ सय रुपैयाँ कायम भइसकेको छ । मूल्य निरन्तर उकालो लागिरहेको भए पनि सरकारी पक्ष भने यसमा मौन देखिएको छ । आपूर्ति मन्त्रालयले यसबारे आफूहरूले अर्थलाई पटक पटक ताकेता गरे पनि कुनै प्रतिक्रिया नआएको बताएको छ । यस्तै अर्थले प्रक्रिया अघि बढिरहेको बताएको छ । अनियन्त्रित मूल्यका कारण साना तथा खुद्रा व्यापारीलाई चिनी विक्री गर्नसमेत समस्या भएको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले बताए । उनका अनुसार अहिले व्यापारीले आफूले किनेको चिनीमा नाफा राखेर बेच्नुपर्दा प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने अवस्था छ । ‘हामीले किन्दा नै प्रतिकिलो ९५ रुपैयाँसम्म पर्ने गरेको छ । तर हामीले ५ रुपैयाँ मात्र नाफा राखेका छौं,’ उनले भने । आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १२ करोड रुपैयाँको चिनी आयात भएकोमा गत आर्थिक वर्षमा करीब तीन गुणा बढेर १२ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ । नेपालमा निजीक्षेत्रबाट ठूलो परिमाणमा चिनी आयात भइरहेकोमा सरकारी स्वामित्वको कम्पनीले खरीद अनुमति समेत नपाउने अवस्था आउनु दुःखद भएको उपभोक्ताको गुनासो छ ।

सम्बन्धित सामग्री

चिनीको मूल्यमा मनपरी

काठमाडौं । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ । ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले प्रतिकिलो ९५ रुपैयाँका दरले ३ किलो चिनी किनिन् । उनकै घरनजिकै रहेकी प्रेमकला महर्जनले घर छेवैको पसलमा प्रतिकिलो १ सय रुपैयाँ किलोका दरले ५ किलो चिनी किनेको बताइन् । खुद्रा व्यापार संघका अनुसार ठूला व्यापारी र उद्योगीहरूका कारण चिनीको मूल्य अनियन्त्रित भएको हो । ठूला व्यापारीहरूले सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै खुद्रा व्यापारीहरूसँग नै प्रतिकिलो ९५ रुपैयाँमा चिनी विक्री गर्न थालेपछि खुद्रा व्यापारीहरूले बाध्य भएर मूल्य बढाएर बेच्नुपरेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले आर्थिक अभियान दैनिकलाई बताए । ‘खुद्रा व्यापारीले खानुपर्ने जति फाइदा खाएर बेच्दा प्रतिकिलो १ सय ५ रुपैयाँ किलोमा बेच्नुपर्ने हुन्छ । तर, यसो गर्दा नियमित ग्राहक भड्किने डरले हामीले प्रतिकिलो ९५ रुपैयाँसम्मले विक्री गर्ने गरेका छौं । कोहीकोही व्यापारीले १ सय रुपैयाँसम्मले पनि विक्री गरेको सुनिएको छ तर हामीले त्यसो नगर्न व्यापारीहरूलाई भनेका छौं,’ उनले भने । सरकारी अनुदानको चिनी खरीदको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले करीब १० महीनाअघि चिनी खरिदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । आपूर्तिले स्वीकृति प्रदानको प्रक्रिया पूरा गर्न उक्त पत्र अर्थ मन्त्रालयमा पठाएको भए पनि अर्थ मन्त्रालयले उक्त पत्रमा कुनै पनि प्रक्रिया अघि नबढाएकाले सरकारी कम्पनीसँग अहिले चिनीको अभाव भएको हो । साल्ट ट्रेडिङसँँग अहिले करीब १ सय ५० मेट्रिकटन मात्र चिनी मौज्दात रहेको छ । मौज्दात नै कम भएपछि कर्पोरेशनले अहिले ग्राहकलाई बेच्नुपर्ने भन्दा कम परिमाणमा चिनी विक्री गरिरहेको छ । यसअघि कर्पोरेशनले तिहारको समयमा प्रतिग्राहक ६ किलोका दरले चिनी विक्री गर्ने गरेको भए पनि यस वर्षको तिहारमा मौज्दात सकिने डरले एकजना ग्राहकलाई २ किलोका दरले विक्री गरिरहेको छ । उपत्यकाबाहिरका उपभोक्ताले यस वर्ष सरकारी अनुदानको चिनी किन्न नपाएको कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए । कर्पोरेशनसँग चिनी नहुँदा बजार मूल्य नियन्त्रणमा समेत समस्या भएको उनले बताए ।