आर्थिक समस्याका कारण रौतहटका इँटा उद्योग बन्द

रौतहट  । इँटाको माग घट्दै जाँदा रौतहटका इँटा उद्योग बन्द हुन थालेका छन् । इँटा उत्पादनको लागत मूल्यभन्दा कममा विक्री गर्न खोज्दा समेत ग्राहक पाउन छाडेपछि उद्योग संकटमा परेका हुन् । एकातिर लागत बढ्ने र अर्कोतिर विक्री नहुने समस्याले इँटा उद्योग धमाधम बन्द हुन थालेका छन् । कच्चा सामग्रीको मूल्य वृद्धि, जग्गा र उपयुक्त माटोको अभाव, मजदूरको अभाव, आर्थिक समस्या लगायत कारण उत्पादनको लागत बढेको गुजरा नगरपालिका–६ मा रहेको गिरी इँटा उद्योगका सञ्चालक पवन गिरीले बताए ।  उनका अनुसार स्तरीय इँटा उत्पादन गर्न प्रतिइँटा १३ रुपैयाँ लागत पर्छ । सो इँटा ११/१२ रुपैयाँसम्ममा पनि विक्री नभएपछि इँटा उद्योगी निराश बनेको उनको भनाइ छ । इँटाको मागमा ह्रास र इँटा उधारोमा विक्री भएको र समयमा भुक्तानी नपाउनु जस्ता विविध समस्याले उद्योग बन्द गर्नुपरेको अर्का इँटा उद्योगी शेख अमिरुल्लाहले गुनासो गरे । इँटा उत्पादनका लागि आवश्यक पर्ने कोइला भारतले नेपाललाई निर्यात नगर्दा इँटाको मूल्य बढेको उनको भनाइ छ । उनका अनुसार इँटा पोल्न आवश्यक पर्ने इन्धन ‘कोइला’ अमेरिका र इन्डोनेसियाबाट आयात गर्नुपर्ने बाध्यताले यहाँसम्म आइपुग्दा प्रतिकिलो ४१ देखि ४६ रुपैयाँसम्म लागत पर्छ । कोइलाको मूल्य बढ्नु, त्यो पनि बेलामा उपलब्ध नहुनु, माग घट्नु, लागतभन्दा कम मूल्यमा इँटा विक्री गर्नुपर्ने बाध्यता र उधारोमा विक्री गर्नुपर्ने लगायतका समस्या यो क्षेत्रमा रहेको उनको भनाइ छ । पोल्न तयार परिएको काँचो इँटा बेमौसमी वर्षाको कारण भिजेर क्षति बेहोर्दै आएका इँटा भट्टाका सञ्चालक यसपटक भने आर्थिक समस्यामा परेका छन् । इँटा व्यवसायमा देखिएको समस्या सरकारले बजेटमा सम्बोधन नगरेको इँटा उद्योग संघ रौतहटका सचिव मोहन साहले बताए । मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको हर्जाना सरकारले मिनाहा गर्नुपर्ने माग संघले अघि सारेको उनको भनाइ छ । राजपुरमा रहेका वेस्ट इँटा उद्योग, सिमरा भवानीपुरको आजाद, विनायक, गिरी इँटा उद्योग बन्द भएका छन् ।