काठमाडौं । केही महीनादेखि सरकारलाई झस्काउन थालेका अर्थतन्त्रका सूचकमा सुधारको संकेत देखिएको छ । सरकार र नेपाल राष्ट्र बैंकले चालेका नीतिगत कदमले रेमिट्यान्स (विप्रेषण), विदेशी विनिमय सञ्चितिजस्ता सूचकमा सकारात्मक प्रभाव देखिन थालेको हो ।
राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत चैतमा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति जस्ता सूचकमा अघिल्ला महीनाको तुलनामा सुुधार देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो महीनादेखि नै अघिल्लो वर्षको तुलनामा कम रहेको विप्रेषण आप्रवाह चैतमा आइपुग्दा लगभग स्थिर देखिएको छ । गत साउनदेखि चैतसम्ममा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो आवको यही अवधिको तुलनामा यो शून्य दशमलव ६ प्रतिशत मात्र कम हो । चालू आवको साउनमा विप्रेषण आप्रवाह अघिल्लो वर्ष साउनको तुलनामा १८ प्रतिशतले घटेको थियो ।
फागुनसम्म मासिक औसत ७८ अर्ब रुपैयाँ बराबर विप्रेषण भित्रिएकोमा चैतमा ९३ अर्ब ५५ करोड रुपैयाँ बराबर भित्रिएको छ । फागुनमा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
विदेशी मुद्रा आर्जनको मुख्य स्रोत विप्रेषण घट्न थालेपछि यसलाई बढाउन बैंकहरूले त्यसको निक्षेपमा अन्यको तुलनामा १ प्रतिशत विन्दुले बढी ब्याज दिन थालेका छन् । यसैगरी हुन्डी कारोबारलाई हटाउन राष्ट्र बैंकले आन्तरिक रकम ट्रान्सफरमा समेत सीमा तोकेको छ । कोभिड–१९ महामारी कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि तथा अमेरिकी डलरको भाउ उच्च भएकाले विप्रेषणमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
सञ्चितिमाथिको दबाब घट्यो
विप्रेषणलगायत विदेशी मुद्रा आम्दानीमा सुधार आएपछि चैत महीनामा विदेशी मुद्राको सञ्चितिमाथिको दबाब केही घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । चालू आवको ८ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महीनाको वस्तु र ६.६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
फागुनको तुलनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति बढेको छ । फागुनसम्म अमेरिकी डलरमा सञ्चिति ९ अर्ब ५८ करोड कायम रहेकोमा चैतमा ९ अर्ब ६१ करोड पुगेको छ ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि पछिल्लो समय सरकार र राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति लिएका छन् । राष्ट्र बैंकले विलासी सामान आयातमा शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छ भने सरकारले १० प्रकारका सामान आयातमा असार मसान्तसम्मका लागि रोक लगाएको छ ।
विप्रेषण आप्रवाह सुधार भए पनि चालू खाता र शोधनान्तर घाटा भने बढिरहेको छ । चैतसम्ममा चालू खाता ५ खर्ब १२ अर्ब ७१ करोडले र शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो भने शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो ।
मूल्यवृद्धि उच्च
चैत महीनामा महँगी भने उच्च दरले बढेको छ । राष्ट्र बैंकका अनुसार गत चैतको महँगी दर (उपभोक्ता मुद्रास्फीति) ७ दशमलव २८ प्रतिशत छ । फागुनमा यो ७ दशमलव १४ प्रतिशत थियो । रूस–युक्रेन तनावले विश्वमा डलर, पेट्रोलियम पदार्थ र अन्य वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।
२०७७ चैतको तुलनामा यो चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू–तेलमा २८ दशमलव ३६, दुग्ध पदार्थ तथा अण्डामा ११ दशमलव ५६, दाल तथा गेडागुडीमा १० दशमलव ५३ र सुर्तीजन्य पदार्थमा ८ दशमलव ९१ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।