वर्षा सुरु भएपछि नारायणी नदी किनारमा बस्ने बासिन्दाको चैन गुम्छ। नारायणी नदीको उचित तटबन्ध हुन नसक्दा तटीय क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य छन्। नारायणी तटबन्धबाट नवलपरासीपूर्र्वमा मात्रै ९० हजार बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित छन्। चितवनतर्फ तीन लाखभन्दा बढी प्रभावित छन्। नारायणी तटबन्धका लागि सरकारले पूर्वी नवलपरासी र चितवन जिल्लामा अर्बौं रकम लगानी गरेर तटबन्धको काम सुरु गरेको पनि वर्षौं भइसक्यो तर पनि समयमा रकम निकासा नहुँदा तटबन्ध अलपत्र परेको छ। नारायणी नदीका कारण गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका हरेक वर्षामा प्रभावित हुने गर्छन्। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मलनभक्त अधिकारीले गैँडाकोटको वडा नं १ देखि ९ सम्म तटबन्ध सुरु गरिए पनि रकम अभावले अगाडि बढ्न नसकेको बताउनुभयो।