अध्ययन थालिएको ४ वर्षमा पनि शुरू भएन भेरी पम्पिङ आयोजना

सुर्खेत । चार वर्षदेखि अध्ययन थालिए पनि भेरी पम्पिङ आयोजनाको काम शुरू हुन सकेको छैन । निर्माणपूर्वका कार्य सम्पन्न गर्न ढिलाइले आयोजना शुरू हुन नसकेको हो । आयोजनको जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भइसकेको छ । प्रदेश राजधानी सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो । आयोजना निर्माणका लागि दशैंअघि टेण्डर आह्वान गर्ने भनिए पनि तयारी नै अपुरो रहेकाले सम्भव नभएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इञ्जिनीयर सुरत बमले लगानीको सुनिश्चितता भए पनि आयोजनाको दिगो व्यवस्थान पक्षको टुंगो लाग्न बाँकी रहेको बताए । ‘विश्व बैंकले आयोजना सञ्चालनको दिगोपनाबारे सुनिश्चितता खोजेको छ’, उनले भने, ‘कानूनी आधार, सञ्चालन तथा व्यवस्थापनलगायतका विषयमा टुंगोमा पुग्न आवश्यक छ ।’ हाल सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाले आयोजनाका लागि व्यवस्थापकीय सहयोग गर्दै आएको छ । यस संस्थालाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कूलमणि देवकोटाले आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार मानी आयोजना निर्माण गर्न लागिएको बताए । ‘आयोजना निर्माणमा अब कुनै द्विविधा छैन, डीपीआर र अन्य अध्ययनका काम सम्पन्न भइसके, अब संस्था सञ्चालनको मोडालिटीबारे छिट्टै टुंगोमा पुग्छौं,’ उनले भने, ‘लगानीको स्रोत जुटिसकेकाले अब जग्गा प्राप्तिसँग जोडिएका केही काम पूरा हुनासाथ निर्माण प्रक्रियामा आयोजना अघि बढ्छ ।’ आयोजनाको भौतिक संरचना निर्माण गर्ने स्थानमा वन क्षेत्रले ओगटेको छ । आयोजना निर्माणका लागि विश्व बैंकले ७० प्रतिशत र नेपाल सरकारले ३० प्रतिशत खर्च बेहोर्नेछ । पहिलो चरणमा संरचना निर्माणका लागि रू. तीन अर्ब २३ करोड लागत अनुमान छ, जसअन्तर्गत मुहान इन्टेक, रिजर्व ट्यांकी, पाइपलाइन निर्माण र दोस्रो चरणमा सेवा विस्तारका काम हुनेछन् । आयोजनाका निर्माणका लागि रू. ६ अर्ब लाग्ने अनुमान छ । भेरी पुल र झुप्रा खोलाको दोभान नजिकबाट पानी पम्पिङ गरी अमृतडाँडा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार भेरीको पानी ४०० मिटरमाथि प्रशोधन गर्ने ट्यांकीमा खसालेपछि त्यसबाट अमृतडाँडासम्म सात किलोमिटर लामो पाइप बिछ्याइनेछ । ५५० मिलिमिटर वा सोभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखी मुख्य ट्यांकीसम्म जडान गरिनेछ । त्यहाँ बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ । हाल सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ भने अझै १८ हजार धारा अपुग रहेको बताइएको छ । रासस