भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा दिन ६८ स्थानीय तहमा खुल्यो आवेदन, ३५ दिनभित्र दिनुपर्ने

पुस २५, काठमाडौं। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने उदेश्यले २७ जिल्लाका ६८ स्थानीय तहमा आवेदन खुला गरिएको छ । राष्ट्रिय भूमि आयोगले प्रकाशित गरेको सूचनामा यस अघि नै आवेदन फारक भरिसकेका व्यक्तिहरुले निस्सा लिन र जग्गा नाप जाँच गराउनको लागि सम्पर्क गर्न आग्रह गरिएको छ ।आयोगले अहिले इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली र मकवानपुरका विभिन्न स्थानीय तहमा आवेदन खुला गरेको हो । त्यस्तै चितवन, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका स्थानीय तहमा पनि आयोगले आवेदन खुला गरेको छ । अहिले आवेदन खुला गरिएका अधिकांस ठाउँ तराई केन्द्रित रहेका छन्। इलाम, सिन्धुली, तनहुँ, सुर्खेत र डडेलधुरा बाहेकका सबै जिल्ला तराईका हुन् । यी जिल्लाका स्थानीय तहमा आगामी माघ १८ गतेदेखि ३५ दिनका लागि आवेदन खुला गरिएको हो ।