मेलम्ची स्रोतबाट काठमाडौँ उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्ने सपना प्राकृतिक विपत्तिका कारण धक्का लागेपछि सरकार नयाँ विकल्पको खोजीमा जुटेको छ । प्राकृतिक विपत्तिका कारण नराम्ररी क्षतविक्षत भएको मेलम्ची खानेपानी आयोजना तत्काल मर्मत गरेर राजधानीवासीलाई पानी खुवाउन कठिनाइ देखिएपछि डिप बोरिङलाई त्यसको विकल्पका रूपमा अगाडि सारिएको हो । यसक्रममा काठमाडौंँ उपत्यका खानेपानी आयोजना लिमिटेडले (केयुकेएल) ले मेचम्ची निर्माण भएर पानी वितरण सहज नहुँदासम्म डिप बोरिङबाट पानी खुवाउने योजना अगाडि बढाएको छ । त्यसक्रममा (केयुकेएल) ले थप १३ वटा डिप बोरिङ जडान गरी पानीको उत्पादन थप गर्दैछ । यो योजनाबाट दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्ने योजना छ । यसक्रममा तीनवटा डिप बोरिङ जडान भएर सञ्चालनमा आइसकेका छन् ।