वैशाख २७, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ ओटा वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकको सम्भावित प्रतिफल सबैभन्दा बढी रहेको छ ।
संस्थापक शेयरधनीहरुको मात्र स्वामित्व रहेको यस बैंकको तेस्रो त्रैमाससम्म सम्भावित लाभांश ३३ दशमलव १३ प्रतिशत रहेको छ । यस बैंकको चुक्तापूँजी रू. ९ अर्ब १८ करोड ४८ लाख ९१ हजार रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक पछि नबिल बैंकको सम्भावित प्रतिफल बढी छ । नबिल बैंकको तेस्रो त्रैमाससम्मको वितरणयोग्य नाफाको आधारमा सम्भावित प्रतिफल २८ दशमलव २१ प्रतिशत देखिएको हो ।
तेस्रो त्रैमाससम्म नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ । उक्त अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार छ । यस अवधिसम्म सर्वाधिक लाभांश क्षमता भएका पाँच ओटा वाणिज्य बैंकहरु भित्र राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकसँगै सानिमा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् ।
सानिमा बैंकको सम्भावित प्रतिफल १४ दशमलव ५६ प्रतिशत, प्रभु बैंकको १४ दशमलव शून्य ५ प्रतिशत र एनएमबि बैंकको १३ दशमलव ९४ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ३५ दशमलव २६ प्रतिशत लाभांश यस वर्ष बैंकले दिएको थियो । बैंकहरुले वितरणयोग्य मुनाफा सहित सञ्चित जगेडा कोषबाट पनि लाभांश वितरण गर्न सक्नेछन् ।
वितरणयोग्य मुनाफाको आधारमा तेस्रो त्रैमाससम्म नेपाल एसबिआई बैंक, सिभिल बैंक, सनराइज बैंक र सेञ्चुरी बैंकको लाभांश क्षमता कम देखिएको छ । नेपाल एसबिआई बैंकको ४ दशमलव ६८ प्रतिशत, सिभिल बैंकको ३ दशमलव ५६ प्रतिशत, सनराइज बैंकको ३ दशमलव ३५ प्रतिशत र सेञ्चुरी कमर्सियल बैंकको २ दशमलव ४७ प्रतिशत रहेको छ ।
तेस्रो त्रैमाससम्मको वितरणयोग्य नाफाको आधारमा वाणिज्य बैंकहरुको सम्भावित प्रतिफल :