काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले एक वर्षमा नै १२ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । वित्तीय वर्ष २०२१ मा ८ अर्ब २९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीको सन् २०२२ मा नाफा ५१ प्रतिशतले बढेको हो ।
रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार बोटलर्स नेपालले चार वर्षमा नै ३७ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । जसमध्ये ६९ दशमलव ५३ प्रतिशत नाफा कम्पनीको सहायक कम्पनी बोटलर्स नेपाल (तराई)को छ । ईक्राका अनुसार बोटलर्स नेपाल (तराई)ले चार वर्षमा २६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
सन् २०२० मा ५७ प्रतिशत बजार हिस्सा रहेको बोटलर्स नेपालको सन् २०२२ मा बजार हिस्सा ६१ प्रतिशत पुगेको छ । कोभिडपछि बोटलर्स नेपाल (तराई) लिमिटेडको बढ्दो निर्यातका साथै २५० बढी डिलरशिपहरूबाट विक्री भएसँगै कम्पनीको नाफामा उल्लेखनीय वृद्धि भएको हो । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले नेपालमा कोका-कोला, स्प्राइट, फन्टा र किन्ले ब्राण्डमा कार्बोनेटेड नन-एल्कोहोलिक बेभरेजको विक्री वितरण गर्दै आएको छ ।
बोटलर्स नेपालको तीन अर्ब ३७ करोड रुपैयाँको दीर्घाकालीन कर्जाको लागि इक्राले ए वान प्लस रेटिङ दिएको छ । बोटलर्स नेपालको तीन अर्ब रुपैयाँको कर्जामा २ अर्ब ७० करोड रुपैयाँ कर्जा बोटलर्स नेपाल (तराई) को छ ।
बोटलर्स नेपालको ७६ प्रतिशत शेयर कोका-कोला साउथवेस्ट एशिया होल्डिङ्स लिमिटेडको, २२ प्रतिशत शेयर स्थानीय साझेदारको रूपमा रहेको गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड र बाँकी प्रतिशत सेयर सार्वजनिक शेयरधनीहरूको छ । यस्तै बोटलर्स नेपाल (तराई) मा बोटलर्स नेपाल लिमिटेडको ९१ प्रतिशत शेयर स्वामित्व र बाँकी हिस्सा भने सर्वसाधारणसँग छ ।
वित्तीय वर्ष
सञ्चालन नाफा
बोटलर्स नेपाल (रु लाखमा)
बोटलर्स नेपाल तराई (रु लाखमा)
सन् २०१९
९६८१०
५८११०
सन् २०२०
६९९४०
४८४८०
सन् २०२१
८२९४०
६२१२०
सन् २०२२
१२५३४०
९१९८०
कुल
३७५०३०
२६०६९०
स्रोत : ईक्रा नेपाल