कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप

जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु सङ्क्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ । पोखरामा–१५ र माछापुच्छ्रेको वडा नं ३ र ४ मा एक/एक फार्ममा रोग पुष्टि भएको छ । रोगका कारण अहिलेसम्म दुई पशु चौपाया मरेको बताइन्छ । सरुवा रोग खोरेत देखिएपछि पशु बिरामी हुने र उत्पादन घट्दै गएपछि कृषक चिन्तित बनेका छन् । खोरेत महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले संयुक्तरूपमा रोकथाम र नियन्त्रणका लागि खोरेतविरुद्ध भ्याक्सिन लगाउने र जैविक सुरक्षाका कार्यहरु अघि बढाएको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा शोभा शर्माले बताउनुभयो ।