डोटीमा १५ शय्याको अस्पताल बन्दै

डोटी । डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शøयाको अस्पताल निर्माण भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो । गत वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्ररूपमा भइरहेको छ । जिल्लामा कोरोनाको जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरूपमा हटेसँगै उक्त अस्पताल निर्माणले गति लएको निर्माण कम्पनीले जनाएको छ । अस्पताल सम्झौता मितिभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढेको निर्माण कम्पनीका सञ्चालक तेजबहादुर पालले बताए । ‘भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, अवरोध केही छैन, सम्झौतामा तोकिएको मितिभित्रै काम सक्छौं ।’ वैशाखमा शिलान्याससँगै अस्पताल निर्माण शुरू गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन । उक्त अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए । ‘काम तीव्र गतिमा अगाडि बढेको छ, एक महिनामै १५ प्रतिशत सकिएको छ, अब समयमै काम सम्पन्न हुनेछ ।’ उक्त अस्पतालको भवन दुई तलाको निर्माण गर्न लागिएको हो । रासस