काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा म्युचुअल फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी उन्नति कोष र शुभलक्ष्मी कोषले माघको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् ।
उक्त वित्तीय विवरण अनुसार तीन ओटै फण्डको न्याभ घटेको छ । शुभ लक्ष्मी कोषको न्याभ पुस मसान्तसम्ममा रू. १० दशमलव २७ रहेकोमा माघ मसान्तसम्ममा रू. १० दशमलव १० मा झरेको हो । त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ माघ मसान्तसम्ममा रू. १० दशमलव ५९ कायम भएको छ । यस फण्डको न्याभ पुस मसान्तसम्ममा रू. १० दशमलव ६३ थियो ।
लक्ष्मी इक्वीटी फण्डको न्याभ पुस मसान्तसम्ममा रू. १० दशमलव ४५ रहेकोमा माघ मसान्तमा घटेर रू. १० दशमलव ४२ कायम भएको छ । यस फण्डले माघ मसान्तसम्ममा रू. १५ करोड २४ लाख नोक्सानी व्यहोरेको छ ।
पुसमा पनि फण्ड रू. १४ करोड ८६ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी पुसको तुलनामा माघमा बढेको छ । माघमा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।
पुस मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. १ करोड ९ लाख रहेकोमा माघ मसान्तसम्ममा बढेर रू. १ करोड २८ लाख पुगेको छ । यस फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८२ करोड ८४ लाख लगानी गरेको छ ।
लक्ष्मी उन्नति कोषको नोक्सानी बढेको छ । यस फण्डले पुस मसान्तसम्ममा रू. ४ करोड ५५ लाख नोक्सानीमा रहेकोमा माघ मसान्तसम्ममा बढेर रू. ४ करोड ८० लाख पुगेको हो । यस फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३९ करोड लगानी गरेको छ ।
त्यस्तै शुभलक्ष्मी कोषले भने माघ मसान्तसम्ममा रू. २७ लाख ६१ हजार नाफा कमाएको छ । पुस मसान्तसम्ममा पनि फण्डले रू. ७३ लाख १७ हजार नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफा पुसको तुलनामा माघमा घटेको छ । फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १८ करोड ५५ लाख लगानी गरेको छ ।