अमेरिकामा बेरोजगारी दर साढे ३ % मा झर्‍यो, १५ महीनासम्म निरन्तर रोजगारी वृद्धि

चैत २१, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी रोजगारदाताहरुले गत महीना ४ लाख ३१ हजार नयाँ रोजगारी सृजना गरेका छन् । अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीको प्रभावबाट विस्तारै उब्रिदै गर्दा रोजगारी सृजनाले पनि टेवा पाइरहेको छ । योसँगै लगातार १५ औं महीना पनि रोजगारी सृजना बढेको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ । फेबु्रअरीमा अमेरिकामा बेरोजगारी दर ३ दशमलव  ६ प्रतिशतमा ओर्लिएको छ ।  समीक्षा अवधिमा सबैभन्दा धेरै रोजगारी सृजना बार, रेष्टुराँ र होटलहरुले गरेका छन् । अहिले अमेरिकाले कोरोना भाइरसको महामारीले गर्दा गुमाएको सबै रोजगारी फिर्ता पाएको छ । श्रम बजारको अवस्था कसिलो बनेसँगै व्यवसायहरुले पनि कर्मचारीहरुलाई लोभ्याउन ÷आकर्षित गर्न बढी तलब दिइरहेका छन् । गत वर्षको सोही अवधिको तुलनामा मार्चमा औसत साप्ताहिक तलब ५ दशमलव ६ प्रतिशतले बढेको श्रम मन्त्रालयले बताएको छ । तर तलब महँगी बढेअनुरुप भने बढ्न सकेको छैन । फेबु्रअरीमा अमेरिकामा महँगाी ७ दशमलव ९  प्रतिशतमा उक्लिएको थियो । यो ४० वर्षयताकै उच्च हो ।  अहिले व्यवसायहरुलाई भनेजस्तो भने जत्तिकै कर्मचारी पाउन मुश्किल भइरहेको छ । तलब बढी दिन्छु भन्दा पनि कर्मचारी पाउन नसकिएको अवस्था छ । आतिथ्य क्षेत्रमा कर्मचारी अभाव आगामी दुई तीन वर्षसम्म रहने अनुमान गरिएको छ । रुसले युक्रेनमाथि गरेको हमला वा तेलको भाउमा भएको वृद्धिले कर्मचारी भर्ती अस्थायी रुपमा सुस्त बनाएको कुनै पनि संकेत नदेखिएको क्यापिटल इकोनोमिक्समा वरिष्ठ अर्थशास्त्री माइकल पियर्स बताउँछन् ।  आकाशिएको महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले गत महीना सन् २०१८ यता पहिलो पटक ब्याजदर बढाएको थियो । फेडले महँगी नियन्त्रण गर्न आक्रामक रुपमा ब्इाजदर बढाउने संकेत गरेको छ । श्रम बजार सुदृढ भएपनि तलब वृद्धि अहिले नै उच्चतम् स्तरमा पुगिसकेकोले फेडले सतर्कताका  साथ कदम चाल्नु पर्ने केही विश्लेषकहरुले औंल्याएका छन् । एजेन्सी