कर फर्छ्यौट आयोगका तीन पूर्वपदाधिकारीहरूलाई ९ वर्ष कैद, १२ अर्ब ३१ करोडभन्दा बढी बिगो र जरिवाना

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तीनजना पूर्वपदाधिकारीहरूलाई ९ वर्षको कैद सजाय र जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ बिगो र जरिवाना तोकेको छ ।   मंगलवार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महीना तथा सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भने ९ वर्ष कैद सजाय सुनाएको हो। इजलासले उनीहरूलाई ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रुपैयाँ बिगो र जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँका दरले जरिवाना तोकेको हो । यस आधारमा उनीहरूले कूल १२ अर्ब ३१ करोडभन्दा बढी बिगो र जरिवाना तिर्नुपर्ने हुन्छ ।   राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०७४ असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छूट दिएको अख्तियारको आरोप थियो।