भाटभटेनीमा हस्तकला कोशेली मेला आयोजना गर्ने तयारीमा हस्तकला महासंघ

कात्तिक ६, काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवर्द्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोशेली मेला आयोजना गर्ने भएको छ । महासंघले हस्तकला वर्षको कार्यक्रम र उद्योग परिषद अन्तर्गतको हस्तकला कोशेली मेला समितिले नक्सालस्थित भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने भएको हो ।  मेला संयोजक बिक्रम सिंह महर्जनले कात्तिक ८ गतेदेखि नक्सालस्थित भाटभटेनीबाट शुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुने बताए ।आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।  हस्तकला मेलामा छालाजन्य सामग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ ओटा स्टल रहने बताइएको छ । मेलाको बैकिङ पार्टनर सानिमा बैंक तथा प्रर्वद्धकमा ग्यालरी टिब्बेट हाउस रहेका छन् । भाटभटेनीसँगको संयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य तथा वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यले नेपाली हस्तकला महँगोमात्र नभइ सस्तो पनि रहेकोले मेलाबाट आन्तरिक बजार प्रवर्द्धन गर्न सहयोग मिल्ने बताए ।