नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्येको एक तयारी पोशाक (गार्मेन्ट) को निर्यात चालू आर्थिक वर्षमा बढेको छ । साउनदेखि पुससम्मको अवधिमा ४ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ । जुन गत आवको सोही अवधिमा ३ अर्ब ८४ करोड रहेको थियो । कोरोना कालमा भने नेपालबाट गार्मेन्ट निर्यात करीब करीब ठप्प थियो ।
गार्मेन्टबाट नेपालले लाभ लिन विशिष्टीकरणलाई जोड दिनैपर्छ । यदि यसो नगर्ने हो भने नेपालले अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्दैन ।
यसरी अहिले निर्यात बढ्नु सकारात्मक हो तर नेपाली गार्मेन्टले मौलिक र विशेष खालको गार्मेन्ट तयार नपार्ने हो भने अहिलेको बजार रहिरहन भने गाह्रो पर्न सक्छ ।
नेपालबाट हुने गार्मेन्ट निर्यातमा निकै उतारचढाव आएको पाइन्छ । कुनै बेला १२ सयभन्दा बढी गार्मेन्ट उद्योग सञ्चालनमा रहेकामा अहिले त्यो डेढ सयको हाराहारीमा मात्रै रहेको छ । उद्योग सञ्चालकहरूले निर्यातका लागि नगद अनुदान दिनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियत ब्याजदरसहितको कर्जा दिनुपर्ने, आयकर छूट, एकमुष्ट कर प्रणाली, निर्यातयुक्त उद्योगको प्रवर्द्धन तथा बजारीकरणका लागि कोष बनाउनुपर्ने लगायतको माग गार्मेन्ट उद्योगले गरिरहेका छन् ।
सरकारले यी माग पूरा गर्दा पक्कै पनि गार्मेन्ट निर्यात बढ्न सक्छ । तर गार्मेन्टमा नेपाली पहिचान कायम राखेर आफ्नै ब्रान्डका गार्मेन्ट निर्यात गर्न सक्नुपर्छ ।
विश्व बजारमा तयारी कपडामा निकै प्रतिस्पर्धा छ । सस्ता कपडादेखि निकै महँगा ब्रान्डका कपडा उत्तिकै बिकिरहेका छन् । गार्मेन्टबाटै बंगलादेशले आर्थिक समृद्धिको आधार तयार गर्दै छ । चीन र भारत पनि गार्मेन्ट उद्योगमा निकै अगाडि छन् । यस्तोमा नेपाली गार्मेन्टले प्रतिस्पर्धा गर्न निकै कठिन हुने देखिन्छ । अहिले नेपालमा उत्पादित तयारी कपडाहरू जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वेलगायत यूरोपेली देश र अमेरिका, क्यानडा तथा अस्ट्रेलियामा समेत निर्यात भइरहेको पाइन्छ । यसरी निर्यात भएको गार्मेन्टमा नेपाली कपडा, नेपाली बान्की आदि दिन सके निर्यात दिगो मात्र होइन, बढी मुनाफासमेत आर्जन हुन सक्छ ।
हुन त नेपाली मूलको फेशन डिजाइनरले नेपाली पश्मिना र ढाका आदिको सम्मिश्रण गरेर तयार पारेको डिजाइन हलिउडमा मात्रै होइन, बेलायतको दरबारमा समेत प्रशंसा पाएको छ । यसले नेपाली कपडाप्रतिको आकर्षणलाई देखाउँछ । अहिले विश्वभरि नै प्राकृतिक रेशाबाट निर्मित कपडाको उच्च माग रहेको छ । नेपालमा अल्लो, सिस्नु, गाँजा आदिको रेशाबाट कपडा बनाउने मौलिक प्रविधि छ जसबाट केही मात्रामा कपडा बनिरहेका पनि छन् । तिनको निर्यातसमेत भइरहेको पाइन्छ तर यो निकै सानो परिमाणमा भइरहेको छ ।
यी कपडा ठूलो परिमाणमा उत्पादन गर्न सके निर्यातको सम्भावना पनि देखिन्छ । विश्वका फेशन डिजाइनरले यस्ता कपडाको खोजी गरिरहेका हुन्छन् । नेपालले पनि यस्ता कपडा प्रयोग गरी गार्मेन्ट निर्यात गर्न सक्छ । तर, यसका लागि शुरूमा सरकारी प्रोत्साहनचाहिँ चाहिन्छ । बिस्तारै गार्मेन्ट व्यवसायी आफै प्रतिस्पर्धी बन्न सक्छन् । साथै गाँजा, अल्लो आदिको खेतीलाई पनि उत्तिकै प्रोत्साहित गर्नु जरुरी देखिन्छ ।
नेपालको ब्रान्डका रूपमा शेर्पा एड्भेन्चर गियर र सोनाम गियरले अन्तरराष्ट्रिय बजारमा निकै राम्रो छवि बनाएका छन् । शेर्पाले अमेरिकामा आउटलेटसमेत खोलेको छ । यसको न्यानो कपडाले राम्रै बजार लिएको छ । नेपालमै पनि यो निकै महँगो ब्रान्डका रूपमा परिचित छ । यस्तै ब्रान्ड र पहिचानयुक्त गार्मेन्ट उत्पादन गरी निर्यात गर्ने वातावरण बनाउन सरकार र व्यवसायी दुवैको सक्रियता जरुरी देखिन्छ । ब्रान्डिङका लागि पनि काम गर्न उत्तिकै आवश्यक छ ।
गार्मेन्टबाट नेपालले लाभ लिन विशिष्टीकरणलाई जोड दिनैपर्छ । यदि यसो नगर्ने हो भने नेपालले अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यस्तै विदेशी कपडा ल्याएर कटाइ र सिलाइ गर्ने चलनले पनि गार्मेन्ट उद्योगलाई दिगो गति दिँदैन । त्यसैले अहिलेको आवश्यकता नेपाल चिनाउने गुणस्तरीय गार्मेन्टको उत्पादन गर्नु हो । यसलाई मनन गर्ने हो भने अन्तरराष्ट्रिय बजारमा नेपालमा उत्पादित गार्मेन्टको माग पनि बढ्दै जान्छ, जुन वर्षौंसम्म कायम भइरहन्छ ।