काठमाडौं (अस) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आयोजनामा दुईदिने गल्फ प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ११ र १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा १०० जना खेलाडीको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सहभागी विजेता खेलाडीलाई विभिन्न १६ वटा विधामा पुरस्कार तथा पदक वितरण गरिएको थियो ।
प्रतियोगिताको पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरदास मूलले अन्तरराष्ट्रिय ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको विकासमा योगदान पुग्ने बताए । नयाँ पुस्तालाई गल्फ खेलतर्फ आकर्षित गर्ने उद्देश्यले कम्पनीले यसअघि पनि प्रतियोगिता गर्दै आएको जानकारी उनले गराए । कम्पनीले सन् २०१८ र २०१९ मा पनि गल्फ प्रतियोगिताको आयोजना गरेको थियो । सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता हुन नसकेको कम्पनीका अध्यक्ष मूलको भनाइ थियो ।